kumari
stcnepal

म्यानमारको सेनाले पूर्वसांसद सहित चार जनालाई मृत्युदण्ड दियो

काठमाडौं ।म्यानमारको सेनाले पूर्वसांसद सहित चार जनालाई मृत्युदण्ड दिएको छ । पूर्वसांसद फ्यो जेया थअ, को जिम्मी नामले चिनिने क्यो मिन यु, ह्ला म्यो आङ र आङ थुरा जअलाई आतंककारी गतिविधि गरेको आरोपमा मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ ।

को जिम्मी नामले चिनिने क्यो मिन यु लेखक हुन् । ५३ वर्षीय जिम्मी सन् १९८८ मा सैन्य शासनको विरोध गर्ने विद्यार्थी समूहका सदस्य थिए । उनी प्रजातान्त्रिक आन्दोलनको क्रममा पटक-पटक जेल परेका थिए । उनलाई गत वर्ष अक्टोबरमा यांगुन स्थित घरमा हतियार लुकाएको र छाया सरकारको सल्लाहकार भएको आरोपमा पक्राउ गरिएको थियो ।

यसैगरी ४१ वर्षीय फ्यो जेया थअ प्रजातन्त्रवादी नेतृ आङ सान सूची निकट मानिन्छन् । उनी सूची नेतृत्वको नेश्नल लीग फर डेमोक्रेसी (एनएलडी) पार्टीका सांसद थिए । उनले सैन्य शासक विरुद्ध कडा अभिव्यक्ति दिंदै आएका थिए । उनलाई सैनिक सरकारले गत नोभेम्बरमा पक्राउ गरेको थियो । मृत्युदण्ड दिइएका अन्य दुई जना बारेमा भने खुलेको छैन । यद्यपि उनीहरु विरुद्ध सेनालाई सूचना पुर्याएको आरोपमा एक महिलालाई हत्या गरेको अभियोग थियो ।

म्यानमारको सरकारी समाचार संस्था ग्लोबल न्यूज लाइट अफ म्यान्मारले चारै जनाले आतंककारी गतिविधिलाई निर्देशन र व्यवस्थापन गरेको कारण प्रतिआतंकवाद कानुन अन्तर्गत सजाय दिइएको बताएको छ । यद्यपि उनीहरुलाई कहाँ र कसरी मृत्युदण्ड दिइयो भन्ने समाचारमा स्पष्ट नभएको बीबीसीमा उल्लेख छ ।

 

 

footer