kumari
stcnepal

छात्रालाई बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षक र साथी पक्राउ

विराटनगर ।१९ वर्षीया एक नर्सिङ छात्रालाई बलात्कार गरेको आरोपमा विराटनगरमा नाम कहलिएका कराँते प्रशिक्षक र उनका साथी पक्राउ परेका छन् । छात्राको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेका कराँते प्रशिक्षकलाई जिल्ला अदालत मोरङको आदेशमा थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख (एसपी) शान्तिराज कोइरालाका अनुसार पक्राउ पर्नेमा कराँते प्रशिक्षक विनोद राउत र उनका साथी सुरज सुवेदी छन् । सुवेदी पनि कराँते प्रशिक्षक भएको बताइएको छ । विराटनगर महानगरपालिका–३ निवासी ५० वर्षीय राउत र सुवेदीले नर्सिङ पढ्दै गरेकी एक छात्रालाई होटेलमा लगेर पटक–पटक बलात्कार गरेको जाहेरी आएको मोरङ प्रहरीले जनाएको छ । एसपी कोइरालाले भने, “थुनामा राखेर थप अनुसन्धान गरिरहेका छौँ ।”

सुवेदीको साथ लिएर राउतले छात्रालाई होटेलमा लगेर बलात्कार गर्ने गरेको र त्यसको भिडियो समेत बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको कोइरालाले बताए ।प्रहरीका अनुसार पीडकले ‘भिडियो सार्वजनिक गरिदिने भन्दै धम्क्याएर आफू माथि पटक–पटक बलात्कार गरेको’ छात्राले बयान दिएकी छन् । ती छात्राले आफू अन्यायमा परेको भन्दै न्यायका लागि प्रहरी समक्ष आग्रह गरेको बताइएको छ ।

footer