kumari
stcnepal

बृहत नवौं राष्ट्रिय खेलकुद र नेपाल टी–२० लिगको समय जुध्ने

काठमाडौं ।बृहत नवौं राष्ट्रिय खेलकुद र नेपाल टी–२० लिगको समय जुध्ने भएको छ । दुई प्रतियोगिता एउटै समयमा पर्दा क्रिकेट खेलाडीहरुको समय व्यवस्थापन भने कठिनाइ हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्स सँग मिलेर आयोजना गरेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग ८ असोज देखि सुरु हुँदैछ । यो प्रतियोगिता झण्डै एक महिना अर्थात् ५ कात्तिक सम्म चल्नेछ ।

गण्डकी प्रदेशमा हुने बृहत नवौं राष्ट्रिय खेलकुद आयोजनाको मिति पनि २८ असोज देखि ३ कात्तिक सम्म निर्धारण भएको छ । क्यानले ४ जेठमा नेपाल टी–२० लिगको घोषणा गरेको थियो । त्यति बेला सम्म राष्ट्रिय खेलकुद २२ जेठदेखि २८ गतेसम्म आयोजना मिति तोकिएको थियो । तर मन्त्रिपरिषद्‍ले १० जेठमा राष्ट्रिय खेलकुद सारेर असोज-कात्तिकमा गर्ने निर्णय गरेको थियो । नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषदले नवौंमा समावेश भएका ३६ खेलका स्पर्धाहरु सम्बन्धित खेल संघले नै आयोजना गर्नुपर्ने बताएको छ । एकै समयमा दुई प्रतियोगिता पर्दा क्यानलाई प्राविधिक र प्रशासनिक रुपमा व्यवस्थापनको कठिनाइ हुनेछ ।

नवौं राष्ट्रिय खेलकुद सचिवालय प्रमुख फडिन्द्र पौडेलले सरकारको प्राथमिकतामा बृहत राष्ट्रिय खेलकुद पर्ने बताउँछन् । नवौं अघि नै मिति घोषणा भएको प्रतियोगिता के गर्ने भन्ने बारे युवा तथा खेलकुद मन्त्रालय, राखेप र क्यान बीच सहमतिपछि निर्णय गर्ने उनको भनाइ छ ।‘नवौं खेलकुद भनेको बृहत राष्ट्रिय उत्सव हो । यसको मिति सँग अन्य प्रतियोगिता जुधाउन मिल्दैन । तर, पहिल्यै घोषणा भएको हकमा सल्लाहमा निर्णय लिइनेछ’ पौडेलले भने ।

दुई प्रतियोगिताको आयोजना मिति जुधेको बारे क्यानले अघिल्लो साता राखेपका नेतृत्व सँग छलफल समेत गरेको थियो । क्यानले एकै समयमा दुई प्रतियोगिता गर्न नसक्ने बरु नवौं खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता केही समयपछि सार्न अनुरोध गरेको थियो ।‘पोखरामा एउटा मात्र रंगशाला भएका कारण पुरुष र महिलाको प्रतियोगिता एकैपल्ट आयोजना गर्न यसै पनि सम्भव हुँदैन । नवौंको समयमा महिला प्रतियोगिता आयोजना गर्ने र नेपाल टी–२० लिग सकिए लगत्तै पोखरामै पुरुष क्रिकेट गर्ने गरी प्रस्ताव गरेका हौं’ मिडिया कमिटी संयोजक समेत रहेका क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकले भने ।

footer