kumari
stcnepal

म्यानचेष्टर सिटी एस्टन भिल्ला सँग १-१ को बराबरीमा रोकियो

काठमाडौं ।प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटी एस्टन भिल्ला सँग १-१ को बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा सिटीले पहिले अग्रता लिए पनि एस्टन भिल्लाले घरेलु मैदानमा बराबरी गोल फर्काएको थियो । यस सिजन सिटीले दोस्रो पटक खेलमा अंक गुमाएको छ ।

पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो । ५०औं मिनेटमा एर्लिङ हालान्डले केभिन डे ब्रुएनाको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । हालान्डले यस सिजन ६ खेलमा १० गोल गरिसकेका छन् । तर ७४औं मिनेटमा लियो बेलीले एस्टन भिल्लाका लागि बराबरी गोल गरे । बराबरीपछि सिटी ६ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा छ । एस्टन भिल्ला ६ खेलबाट ४ अंकसहित १७औँ स्थानमा छ ।

टोटनहमहले फुलहमलाई २-१ ले हराएर सिटी समान १० अंक जोडेपछि गोलअन्तरमा सिटी अघि छ । टोटनहमका लागि पिएरे एमिल होजवर्ग र ह्यारी केनले गोल गरे । फुलहमका अलेक्जान्डर मिट्रोभिकले गोल गरे । यस्तै चेल्सीले एक गोलले पछि परेको स्थिती उल्टाएर लण्डन डर्बीमा वेष्टह्याम माथि २-१ को जित निकालेको छ । चेल्सीका लागि बेन चिलवालले ७६औं र काई हाभार्ट्जले ८८औं मिनेटमा गोल गरे ।

मिकेल एन्टोनियोले ६३औं मिनेटमा गोल गर्दै वेष्टह्यामलाई अग्रता दिलाएपनि कायम राख्न सकेन । ९०औं मिनेटमा वेष्टह्यामका म्याक्सवेल कोर्नेटले गोल गरेपनि भिएआरले मान्यता नदिँदा चेल्सी भाग्यमानी बन्दै विजेता भयो । जितपछि ६ खेल बाट १० अंक जोडेर चेल्सी पाँचौ स्थानमा उक्लेको छ । मर्सिसाइड डर्बीमा लिभरपुल र एभरटनले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् । यस सिजन तेस्रो बराबरी खेलेको लिभरपुल ९ अंक सहित छैटौं स्थानमा छ ।

footer