kumari
stcnepal

एलन मस्कले लिए ट्वीटरको स्वामित्व, सीईओ लगायत माथिल्लो तहका कर्मचारीको बहिर्गमन

काठमाडौं ।एलन मस्कले स्वामित्व लिए सँगै ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लगायत माथिल्लो तहका कर्मचारीको बहिर्गमन भएको छ । बिहीबार मात्रै मस्क ट्वीटरको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए । त्यस लगत्तै ट्वीटरका सीईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेड बाहिरिएको अमेरिकी समाचार संस्थाले जनाएका छन् ।

सीईओ लगायतका कर्मचारी आफैंले राजीनामा दिएर बाहिरिएका हुन् वा मस्कले ‘फायर’ गरेका हुन् भन्ने खुलेको छैन । केही समय अगाडि मात्रै मस्क र अग्रवालले एकअर्कालाई आलोचना गरेका थिए । यसअघि मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किन्ने सम्झौता गरेका थिए । तर, त्यसपछि सम्झौता बाट पछि हटेका थिए । उनी पछि हटेपछि ट्वीटर अदालत पुगेको थियो ।

मस्कलाई अदालतले अक्टोबर २८ (शुक्रबार)सम्म सम्झौता कार्यान्वयन गर्न सीमा तोकिदिएको थियो । अदालतले तोकेको सीमा अगावै उनले सुरुको मूल्य अनुसार नै ट्वीटरको स्वामित्व लिएका हुन् । बिहीबार मात्रै हेडक्वाटर पुगेका मस्कले आफ्नो एकाउन्टमा पनि ‘चिफ ट्वीट’ लेखेका छन् ।

footer