kumari
stcnepal

पाकिस्तानमा बस दुर्घटनामा ४० जनाको निधन, ढुङ्गा डुब्दा १० बिधार्थीको पनि निधन

पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा एउटा बस पुलबाट खसेर आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको लसबेला जिल्लाका एक वरिष्ठ अधिकारी हम्जा अन्जुमले आइतबार जानकारी दिएअनुसार मृतकहरूको पहिचान हुन सकेको छैन । पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको उक्त बसमा ४८ जना यात्रु सवार रहेका र तीन जनालाई जीवितै उद्धार गरिएको जनाइएको छ ।

बसका चालक निदाएकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान गरिएको छ । राजमार्गमा लापरवाह ड्राइभिङले पाकिस्तानमा डरलाग्दो सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ । बसको क्षमताभन्दा धेरै यात्रु सवार र सिटबेल्टहरू सामान्यतया नलगाइने जस्ता कारणले गर्दा एकल सवारी दुर्घटनाबाट मृत्यु हुनेहरूको सङ्ख्या सामान्य हुन पुगेको छ ।

सन् २०१८ मा पाकिस्तानको सडक दुर्घटनामा परी २७ सय भन्दा बढी मानिसहरू मारिएका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यसैबीच, पाकिस्तानकै उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा डुङ्गा डुब्दा दश जना विद्यार्थीको ज्यान गएको छ । ७ देखि १४ वर्षका स्कूले केटाकेटीको मृत्यु भएको हो । डुङ्गा डुब्दा हराएका नौ जनाको खोजी भइरहेको छ भने एघार जनालाई उद्धार गरिएको छ ।

footer