kumari
stcnepal

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको निधन

काठमाडौं ।पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ । उनको उपचारका क्रममा दुबईमा निधन भएको हो । ७९ वर्षका उनी कमैलाई मात्र लाग्ने एमलोइडोसिस् रोगबाट पीडित थिए  र उनी ३ हप्तादेखि अस्पतालमा भर्ना भिए । पूर्व सेनाप्रमुखसमेत रहेका उनको निधनमा सेनाको मिडिया विङ्सले समवेदना सन्देश निकालेर भनेको छ, ‘अल्लाहले दिवंगत आत्मालाई शान्ति र शोक सन्तप्त परिवारलाई शक्ति दिउन् ।’

१८ वर्षको उमेरमा सन् १९६१ मा सैनिक एकेडेमीमा भर्ना भएका उनी सेनाको प्रमुख बनेका थिए । सन् १९९९ मा सैनिक कुमार्फत उनले सत्ता हात पारेका थिए ।मुसर्रफले सैनिक कु गर्नुअघि नवाज सरिफ प्रधानमन्त्री थिए र मुसर्रफलाई सरिफले नै सेना प्रमुख नियुक्त गरेका थिए । सैनिक कु बाट पाकिस्तानको कार्यकारी अधिकार हातमा लिएका मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति बनेका थिए । सन् २००८ को चुनावमा मुसर्रफको दलले चुनाव हारेपछि उनी दुबई र लण्डनमा निर्वासनमा गएका थिए र सन् २०१३ मा पाकिस्तान फर्केका थिए । स्वदेश फर्केपछि उनीमाथि विभिन्न मुद्दा लागेको थियो ।

जसमध्येको एउटा मुद्दा सन् २००७ मा संकटकाल घोषणा गरेर संविधान निलम्बन गरेकोमा लागेको राजद्रोहको पनि थियो । जसमा उनीमाथि सन् २०१९ मा मृत्युदण्डको सजाय सुनाइएको थियो । आफूमाथि मृत्युदण्डको सजाय सुनाएको बेला उनी दुबईमा नै उपचाररत थिए । सन् १९४३ मा दिल्लीको उर्दु भाषी परिवारमा जन्मेका उनले सन् १९४७ मा भारत पाकिस्तान विभाजनहुँदा परिवारसँगै भारत छाडेका थिए ।

footer