kumari
stcnepal

आन्दोलन फिर्ता लिएर नियमित सेवामा जुटन नेपाल चिकित्सक संघलाई स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनका कार्यक्रम फिर्ता लिन नेपाल चिकित्सक संघल‍ाई आग्रह गरेको छ। मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने नेपाल चिकित्सक संघको कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन्। आन्दोलनको कार्यक्रम फिर्ता लिएर नागरिकहरुको स्वास्थ्य उपचारको नियमित काममा जुट्न मन्त्रालयले सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलागयत सम्बद्ध सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको छ।

माघ २७ गतेका दिन चिकित्सक माथि सुरक्षाकर्मी बाट भएको कुटपिटको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्रालयले घटनाको विषयमा थप छलफल गरी समस्याको समाधान गर्न वार्ता समिति गठन गर्ने र संघले उठाएका विषयहरुलाई संवादमार्फत समाधानको प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख छ। घटनामा संलग्न सुरक्षाकर्मीलाई निलम्बन गरी प्रहरीले घटनाको छानबिन गरिरहेको‍ मन्त्रालयले जानकारी दिएको छ। चिकित्सकको आन्दोलनले आकस्मिक बाहेकका सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामीहरु भने मर्कामा परेका छन्। अस्पताल पुगेका बिरामीहरु उपचार बिनै घर फर्किन बाध्य छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला चिकित्सक माथि सुरक्षाकर्मीले कुटपिट गरेको विरोधमा चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने जनाएको छ। संघका आजीवन सदस्यसमेत रहेका राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायतमाथि प्रहरीले माघ २७ गते लाठीचार्ज गरी घाइते बनाएको घटनाप्रति विरोध गर्दै संघले आइतबार देशैभरका अस्पताल र स्वास्थ्य संस्थाका सेवा बन्द गरेको हो।

भीभीआइपीको सुरक्षाका नाममा प्रहरीले स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सकलाई आक्रमण गरी गम्भीर घाइते बनाइनु र स्वास्थ्य सेवा लिन आइरहेका हजारौं बिरामीलाई समेत अस्पताल पुग्न नदिएर अलपत्र पार्ने अवस्था सिर्जना गरिएकोप्रति नेपाल चिकित्सक संघले विज्ञप्ति निकालेर विरोध गरेको छ। ‘आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरिएको छ,’ संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

footer