kumari
stcnepal

१४ औ संस्करणको साफ च्याम्पियनसिप भारतमा हुने

साफ च्याम्पियनसिपको आगामी १४ औं संस्करण भारतमा हुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) कार्यसमितिको मंगलबार बसेको भुर्चअल बैठकले यो वर्ष साफ च्याम्पियनसिप भारतमा आयोजना गर्ने निर्णय गरेको हो। दक्षिण एसियाली फुटबलको पुरूष तर्फको सबैभन्दा महत्वपूर्ण प्रतियोगिता भारतमा हुने निश्चित भएपनि आयोजनास्थल र मिति भने पछि तय हुनेछ। आगामी मार्च १० सम्मा आयोजनास्थल र मिति तय हुनेछ ।

भारतमा साफ च्याम्पियनसिप आयोजना हुन लागेको यो चौथो पटक हो। यसअघि सन् १९९९, २०११ र २०१५ मा च्याम्पियनसिप भारतमा भएको थियो।बंगलादेशले ३ पटक, नेपाल, पाकिस्तान, माल्दिभ्स र श्रीलंकाले समान २-२ पटक साफको आयोजना गरिसकेका छन्। सन् २००८ को संस्करण भने माल्दिभ्स र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका थिए। नेपालले सन् १९९७ र पछिल्लो पटक २०१३ मा साफ च्याम्पियनसिप आयोजना गरेको थियो ।

साफ च्याम्पियनसिपको उपाधि नेपालले अहिलेसम्म जित्न सकेको छैन। पछिल्लो पटक सन् २०२१ मा माल्दिभ्समा भएको च्याम्पियनसिपको फाइनलमा पुग्नु नै नेपालको लागि सबैभन्दा ठूलो उपलब्धि हो। फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो। साफ च्याम्पियनसिप भारतले सर्वाधिक ८ पटक उपाधि जितेको छ। यस्तै माल्दिभ्सले २ पटक, बंगलादेश, श्रीलंका र अफगानिस्तानले एक पटक जितिसकेका छन्। यसअघिको संस्करणमा ५ टोलीको सहभागिता रहेको थियो भने यसपटक साफका सबै ७ सदस्य राष्ट्रको टोलीको सहभागिता रहनेछ।

footer