kumari
stcnepal

नामिबिया माथी स्कटल्याण्डको सहज जित

काठमाडौँ – आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तगर्तको आफ्नो चौथो खेलमा पनि नामिबिया पराजित भएको छ। कीर्तिपुर स्थित टियू मैदानमा सोमबार भएको खेलमा स्कटल्यान्डले नामिबियालाई २२२ रनको लक्ष्य दिएको थियो। जवाफमा नामिबिया ३८.४ ओभरमा १ सय ७८ रनमानै अलआउट भएपछि स्कटल्यान्डले ४३ रनको सहज जित हासिल गरेको हो।

नामिबियाले विश्वकप लिग–२ मा पहिलो पटक त्रिकोणात्मक सिरिजका सबै ४ खेल हारेको हो। यसअघि उसले गत मार्चमा ओमान, युएई सम्मिलित सिरिजमा ३ खेलमा हार भोगेको थियो। हारका बाबुजत नामिबिया ३४ खेलबाट ३७ अङ्कका सात तेस्रो स्थानमा कायम छ। उसको लगातारको हारले अमेरिका, युएई र नेपाललाई भने केही राहत मिलेको छ। शीर्ष तीनमा यसअघि नै स्कटल्यान्ड र ओमानले स्थान बनाइसक्दा अब एक देशको टुंगो लाग्न बाँकी छ।

सोमबार टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४८.४ ओभरमा अलआउट हुँदै २२१ रन बनाएको थियो। स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले सर्वाधिक ४७ रन बनाउँदा टोमस म्याकिन्टोसले ३४ रन बनाए। त्यस्तै, कप्तान रिचि बेरिङ्गटनले ३२ रन बनाउँदा माइकल लिक्सले २९ रन बनाएका थिए। त्यस्तै, म्याथ्यू क्रसले १६ रन बनाउँदा क्रिस ग्राभेसले १४ तथा मार्क वाटले १० रन बनाए। नामिबियाका लागि रुवेन ट्रम्पेलम्यानले ५ विकेट लिँदा टगिनी लुङ्गमेनीले २ विकेट लिएका थिए।

 

footer