kumari
stcnepal

नेपालले दियो कुवेतलाई २सय ८१ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा नेपालले जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा कुवेतलाई २ सय ८१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले ९ विकेट गुमाउँदै २८१ रनको योगफल तयार पार्‍यो ।

नेपालका कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र तीन छक्का सहित सर्वाधिक ९४ रनको इनिङ खेले । कप्तान मोहमद अस्लामको बलमा यासिन पटेलबाट क्याच आउट हुँदा रोहित ६ रनले शतक बनाउन चुके । रोहितले यसअघि, चौथो विकेटका लागि कुशल मल्लसँग १ सय ९ रनको साझेदारी गरेका थिए । कुशल ४४ बलमा समान ४ चौका र छक्का सहित ५७ रनमा आउट भए ।

कुवेतको बलिङमा मोहमद अस्लाम र अदनन् इद्रिसले समान तीन–तीन विकेट लिए । यासिन पटेल र सायब मोनिबले समान एक विकेट लिए । आजको खेलमा कुवेतलाई पराजित गरे नेपालले फाइनलमा ओमान अथवा यूएई सँग प्रतिस्पर्धा गर्नेछ । यदि पानी परेर खेल रद्द भए पनि नेपाल फाइनल पुग्नेछ । तर, २० ओभरको खेल सकिएर खेल रोकिए डीएल मेथडमा जो अघि रहन्छ त्यही टिम फाइनल पुग्नेछ ।नेपालले २ सय ८१ रन बनाए पनि पहिलो इनिङमा पाओर प्ले बढी खेलेको भएर एक रन घटेको बताइएको छ ।

 

footer