kumari
stcnepal

नख्खु कारागारमा थुनामा रहेका पूर्व राज्यमन्त्री सञ्जय टकलालाई झिकाएर सिआईबीले लियो बयान

काठमाडौँ । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले सञ्जय शाह ‘टकला’को बयान लिएको छ । ‘टकला’ पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री हुन् । नख्खु कारागारमा थुनामा रहेका शाहलाई झिकाएर महाराजगन्ज स्थित सिआईबीको कार्यालयमा बयान लिएको ब्युरोका एक जना अधिकृतले बताए । शाह विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । जनकपुर बम काण्डमा ५ वर्ष देखि नख्खु स्थित डिआरसी ब्लकमा राखिएको शाह राज्यमन्त्री हुँदा ललिता निवास क्याम्प भित्रको सरकारी जग्गा हिनामिनामा संलग्न देखिएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ ।

२०७६ पुसमा सिआईबीले गृह मन्त्रालयमा बुझाएको छानबिन प्रतिवेदनले ‘सरकारी लिखत किर्ते’ मुद्दामा शाहलाई पनि कारबाहीको सिफारिस गरेको थियो । तत्कालीन उप–प्रधान तथा मन्त्री भौतिक योजना तथा निर्माण मन्त्री गच्छदारले विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गरेर ‘टिप्पणी सदर गरेर मन्त्रिपरिषद्मा लगेको’ ब्युरोको छानबिनबाट देखिएको छ । २०६७ असार २८ मा भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव दीप बस्न्यातले टिप्पणी सदर गरी मन्त्री गच्छदारकहाँ पेस गरेका हुन् । सो प्रस्ताव राज्यमन्त्री सञ्जय शाह र उप–प्रधानमन्त्री गच्छदारले सदर गरेर मन्त्रिपरिषद्मा लगेका थिए ।

निवास बिस्तार र ललिता निवास क्षेत्रमा बाटो बिस्तार गर्दा २७ रोपनी जग्गा हिनामिना भएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले  बताए । सभामुख निवासबाट एनआरएनए भवन तर्फ जाने बाटोमा ८ रोपनी जग्गा परेको छ । सो प्रस्तावमा तत्कालीन सह–सचिव नारायण गोपाल मलेगोले टिप्पणीमा राय सहित पेस गरेका थिए । तत्कालीन शाखा अधिकृत कृष्ण राउतले प्रस्तावको लागी टिप्पणी उठाएका थिए । २०६६ चैत १९ मा सचिव दीप बस्न्यातले टिप्पणी सदर गरी प्रस्ताव पेस गरेको ब्युरोका प्रतिवेदनमा उल्लेख गरिएको छ ।

footer