kumari
stcnepal

नक्कलि बिज्ञापनको भर पर्दा ठगिए नेपाली नागरिक

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन् । उनीहरुले ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्कपर्मिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरु ठूलो रकम गुमाउन पुगेका हुन् ।

अनुसन्धानमा उक्त विज्ञापनपछि सम्पर्कमा पुगेका पीडितलाई क्यानडामा क्यासियरको काम लगाइदिने र त्यसबापत पाँच लाख ४५ हजार तलब हुने लोभ देखाएर रकम ठगी गरेको पाइएको हो । क्यानडा जानका लागि प्रोसेसका लागि आइएलटिएस सर्टिफिकेट र सिभी, राहदानी, शैक्षिक योग्यताको प्रमाणपत्रहरु पठाउन भन्दै पटक–पटक ह्वाट्सएपबाट माग गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । त्यसपछि पीडितले कागजात पठाएका र कागजात पेस गर्न रकम तिर्नुपर्छ भनी पीडितबाट नेपालमा रहेका विभिन्न व्यक्तिहरुका नाममा रहेको बैंक खातामा पैसा हाल्न लगााएको भेटिएको हो । पीडितलाई त्यसरी लोभ्याएर पटक-पटक गरी ३४ लाख ५७ हजार पठाउन लगाई ठगी गरेपछि उनीहरु सम्पर्कविहीन भएको भनी जाहेरी परेको थियो र सोही जाहेरीका आधारमा टोली परिचालन गरी खोजी थालिएको थियो ।

यसरी अनलाइनमार्फत ठगी गर्ने कार्यमा सङ्लग्न पाइएपछि जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका-६ बस्ने ३० वर्षीय लक्ष्मण नेपाली र जिल्ला सप्तरी राजविराज नगरपालिका–४ का ३५ वर्षीय महावीरप्रसाद साहलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

footer