kumari
stcnepal

गैरीगाउँ हत्या प्रकरण : एक जना युवकको मात्र संलग्नता, म्याद थपका लागि अदालत लैजाने तयारी

काठमाडौं । तीनकुने स्थित दिव्य सःमिलमा शुक्रबार राति भएको सामूहिक हत्यामा एक जना युवकको मात्र संलग्नता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले आइतबार मात्र ती युवकलाई पक्राउ गरेको थियो । उनले चार जनाकै हत्या आफूले गरेको बयान दिएको प्रहरी स्रोतले बताएको छ ।

बयानअनुसार उनी मोरङ घर भएका १९ वर्षका नवीन राईको हत्या गर्न सःमिलमा पुगेका थिए । घटनाबारे थाहा पाउने भएपछि उनले अरु माथि पनि अन्धाधुन्ध आक्रमण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आक्रमणमा परी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा र आमा ७० वर्षकी सुमित्रा भुजेलको पनि मृत्यु भएको छ । घटनाबारे खबर गर्न २८ वर्षका दीपेन्द्र राई तीनकुने स्थित प्रहरी वृत्त नयाँ बानेश्वर पुगेका थिए । कपडा र जुत्तामा रगत लागेको अवस्थामा पुगेका उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।

तर, सीसीटीभी फुटेजमा दीपेन्द्र ११ बजेर १३ मिनेटमा सःमिलमा प्रवेश गरेर ११ः३३ मा निस्किएको पाइएको छ । उनी प्रहरी कहाँ पुग्दा ११ः५५ बजेको थियो । यो घटना उनी पुग्नुभन्दा पहिला नै भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ । त्यसअनुसार आइतबार अर्का एक युवक पक्राउ परे र उनले आफ्नो संलग्नता स्वीकार गरेका छन् । उनलाई म्याद थपका लागि अदालत लैजाने तयारी छ ।

footer