kumari
stcnepal

उत्तेजित अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका विवास्पद धर्मगुरु आचार्य श्रीनिवास माथि सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता

जनकपुरधाम । उत्तेजित अभिव्यक्ति दिएको आरोपमा सुनसरीमा पक्राउ परेका विवास्पद धर्मगुरु आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा उनीविरुद्ध बुधबार मुद्दा दर्ता भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट सुन्सरी प्रहरीले पक्राउ गरेको थियो । बुधबार साँझ उनलाई कारबाहीको लागि धनुषा ल्याइएको थियो । असोज १२ गते जनकपुरधाममा भएको विरोध कार्यक्रमममा हिंसात्मक अभिव्यक्ति दिएका थिए । सोही अभियोगमा उनीमाथि मुद्दा चलाइएको हो । जनकपुरधाममै हिंसा भड्काउने उत्तेजक अभिव्यक्ति दिएको भन्दै कारबाहीको लागि ल्याइएको प्रहरीले जनाएको छ ।

यसअघि २०७४ चैत २५ मा आफ्नै पाखुरामा गोली हान्न लगाएको आरोपमा समेत उनी पक्राउ परेका थिए । श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको प्रहरी समक्ष स्वीकार गरेको डीएसपी अवाको भनाइ छ । ’म साधु मान्छे । त्यति बेला माहोल देखेर आवेशमा आएर बोलेँ । गल्ती गरेँ, कमिला पनि नमार्ने मान्छे म । के मान्छे मार्न आदेश दिउँला र । मैले गल्ती बोलेको हुँ’,  श्रीनिवासको वयान उधृत गर्दै डीएसपी अवाले भने ।

footer