kumari
stcnepal

भुटानी शरणार्थी प्रकरण : प्रहरीले थुनामा रहेका ५ जना आरोपितहरू सँग बयान लियो

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूले थुनामा रहेका ५ जना आरोपितहरू सँग बयान लिएका छन् ।

‘भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछौँ’ भनेर रकम उठाएको आरोप लागेका पाँच जनासँग बयान लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) कुमोध ढुङ्गेलले बताए । जेलबाट झिकाएर टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा सानु भण्डारी, रामशरण केसी, केशव दुलाल, आङटावा शेर्पा र सागर राईसँग बयान लिइएको हो । पाँच जना आरोपितहरू जिल्ला अदालत काठमाडौँको आदेशले पुर्पक्षका लागि थुनामा छन् । पहिलो चरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाण सहित १६ जना थुनामा छन् ।

२०७९ चैत १२ मा मोरङका केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेर प्रहरीले पहिलो चरणको अनुसन्धान पुरा गरेको थियो । सङ्गठित ठगी मुद्दामा ६० दिन अनुसन्धान गरेर प्रतिवेदन बुझाएसँगै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रहरीलाई दोस्रो चरणको अनुसन्धान गर्न निर्देशन दिएको थियो । शरणार्थी प्रकरणमा अहिले प्रहरीमा १७ थान जाहेरी दर्ता भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद आङटावा शेर्पा विरुद्ध दोस्रो चरणमा एकजनाले जाहेरी दिएका छन् । शेर्पाले प्रहरीसँगको बयानमा ती पीडितसँग हाइड्रोपावरमा लगानी गर्ने प्रयोजनका लागि रकम लिएको बयान दिएका छन् । उनले बयानमा भनेका छन्–‘जाहेरवालासँग १२ लाख लिएको थिएँ, त्यसमध्ये ११ लाख फिर्ता गरिसकेको छु ।’

शरणार्थी प्रकरणमा संलग्नरु सबैले इन्कारी बयान दिएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘पाँच जना प्रतिवादीहरूले शरणार्थी बनाएर अमेरिका पठाउने भनेर रकम लिएको कुरा अस्वीकार गरेका छन् ।’ यसअघि एकले अर्कोलाई पोल गरेका प्रतिवादीहरूले अहिले कसैलाई पोल गरेका छैनन् ।अनुसन्धान अधिकृतहरूले प्रतिवादीहरूको सिडिआर (कल डिटेल्स रेकर्ड) एनालाइसिस गरिरहेका छन् ।

footer