kumari
stcnepal

हुण्डी मार्फत घुस लिएको आरोपित एसएसपीलाई गृहमन्त्री नै बचाएँ

काठमाडौं । हुन्डी कारोबारमा प्रत्यक्ष जोडिएका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक () बेलबहादुर पाण्डेलाई ‘अनुसन्धान’ गरेर उन्मुक्ति दिइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख हुँदा पाण्डे हुन्डी कारोबारमा संलग्न रहेको विषय अनुसन्धान भएपनि डिआइजी सुरेन्द्र मैनालीले उनलाई उन्मुक्ति दिएका हुन् । प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन गर्न उनै मैनालीलाई तोकेको थियो ।

‘आफूनिकट’ विभिन्न व्यक्तिको बैंक खाता दिएर एसएसपी पाण्डेले पर्साका हुन्डी कारोबारीलाई पैसा जम्मा गर्न लगाएको आरोप लागेपछि उनीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको थियो । तर, उक्त समिति पाण्डेमाथि अनुसन्धान गर्न भन्दा पनि उनलाई ‘चोख्याएको’ हो । पर्साका हुन्डी कारोबारी राज होजियारी भनिने राज साहसँग दिनेश नाम गरेका व्यक्तिको खातामा रकम जम्मा गर्न लगाएको र राज साहले ‘पाँच लाखको चेक’ डिपोजिट गरिसकेको र ‘चालिस लाखको चेक डिपोजिट’ गर्न लगाएको आरोपमा उनीमाथि छानबिन गरिएको थियो । हुन्डी कारोबारलाई अवैध विदेशी विनिमयका रुपमा लिइन्छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ ले अवैध विदेशी विनिमयलाई दण्डनीय मानेको छ । हुन्डी कारोबार गर्नेलाई बिगो जफत गरी बिगोको ३ गुणासम्म जरिवाना तथा ३ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार हुन्डी कारोबारीविरुद्धको मुद्दा सरकारीवादी मुद्दा हो । हुन्डी कारोबारविरुद्धको अनुसन्धान पनि अरु फौजदारी कसुरमा जसरी नै हुनुपर्छ । राष्ट्र बैंक ऐनको दफा ९७ मा अवैध विदेशी विनिमय (हुन्डी) कारोबारसम्बन्धी कसुरको मुद्दा पनि सरकारी मुद्दासम्बन्धी ऐन २०४९ को अनुसूची–१ मा समावेश भएको मानिने व्यवस्था छ । सरकारी मुद्दासम्बन्धी ऐन २०४९ को दफा ४ मा अनुसूची–१ मा उल्लेखित कुनै अपराध भएमा ‘प्रमाण लोप वा नाश हुन नदिने र अपराधी उम्कन नपाउने व्यवस्था गर्ने’ भनिएको छ । तर, पाण्डेविरुद्धको छानबिन गर्दा नै उन्मुक्ति दिने उदेश्य राखेको स्रोतको दाबी छ ।

पाण्डे गृहमन्त्री नारायणकाजी श्रेष्ठको जिल्लावासी हुन् । एसपी हुँदा केन्द्रीय अनुसन्धान व्यूरोमा बस्दा ललितानिवास जग्गा प्रकरणमा राम्रो अनुसन्धान गरेको भन्दै पर्सा जिल्लाको कमाण्ड गर्न पठाएको बेला उनी हुण्डी कारोबारीसँग जोडिएका थिए । हुन्डी कारोबारमा जोडिए पनि ‘गृहजिल्लाबासी’को नाताले एसएसपी पाण्डेले गृहमन्त्रीबाट ‘आशीर्वाद’ पाएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । गृहमन्त्री श्रेष्ठ र एसएसपी पाण्डे दुबैको गृहजिल्ला गोरखा हो । सोही ‘साइनो’मार्फत् एसएसपी पाण्डे कारबाहीबाट जोगिएको स्रोतको दाबी छ ।

 

footer