kumari
stcnepal

बागमती प्रदेशसभाको बजेट अधिवेशन वैशाख ३१ गते बोलाउन दलहरू सहमत

हेटौँडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन वैशाख ३१ गते बोलाउन दलहरू सहमत भएका छन् । शुक्रवार हेटौँडामा बसेको सर्वदलीय बैठकमा यस्तो सहमति भएको नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

‘वैशाख ३१ गते बागमती प्रदेशसभाको अधिवेशन आह्वान गर्ने गरी सरकारले सिफारिस गर्ने सहमति भएको छ’, थपलियाले भने, ‘जेठ १ मा प्रि बजेट छलफल, १५ गते नीति तथा कार्यक्रम पेस, असार १ गते बजेट पेस गर्ने गरी संसद्को क्यालेन्डर बनाउन पनि दलहरूबिच सहमति जुटेको छ ।’ त्यस्तै बजेटमाथिको विगतको कमजोरी सुधारेर सन्तुलित र व्यवहारिक बजेट बनाउन पनि दलहरू सहमत भएका छन् । यसअघिको बजेट सन्तुलित नभएको भन्दै विरोध भएको थियो । सर्वदलीय बैठकले प्रदेशसभाका पाँच संसदीय समिति सभापति चयनका लागि दलका प्रमुख सचेतकहरू सदस्य रहेको कार्यदललाई सहमति जुटाउन अनुमति दिने निर्णय पनि गरेको छ ।

कार्यदलले जेठ ४ सम्म समिति सभापतिका लागि सहमति जुटाउन नसके निर्वाचन प्रक्रिया अघि बढाउनेबारे दलहरू सहमत भएका छन् । सर्वदलीय बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले समिति सभापतिमा मुख्य पाँच दललाई एक एक समिति सभापति दिने गरी प्रस्ताव पेस गरेका थिए । कार्यदलले यसैलाई आधार बनाएर टुङ्ग्याउने नेताहरूको दाबी रहेको छ । प्रदेशसभामा सात दलको प्रतिनिधित्व छ । मुख्यमन्त्रीको प्रस्तावमा सहमति जुटे हाम्रो नेपाली पार्टी र नेमकिपाले समिति सभापति पाउने छैनन् ।

footer