kumari
stcnepal

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई नेकपा एसले विश्वासको मत नदिने

विराटनगर । एकीकृत समाजवादीले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएकाे छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामै रहेका बेला विश्वासको मत लिन खोजेको भन्दै सो पार्टी मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकमा अनुपस्थिति रहने भएको हाे ।एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले अदालतमा मुख्यमन्त्रीकै विरुद्धको मुद्दा विचाराधीन अवस्थामा रहेको बेला विश्वासको मत लिन खोज्नु गलत भएको बताए ।

‘अदालतमा मुद्दा विचाराधीन छ । हतार हतार विश्वासको मत लिनु हुँदैन थियो । संविधानको प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिन पाउने अवस्था हुँदा हुँदै अदालतले जेठ ९ गते सुनुवाइ गर्ने भनिसकेको अवस्थामा हतार गर्नुहुँदैन थियो,’ राईले भने । उनले आफ्नो पार्टी राष्ट्रिय महाधिवेशनको तयारीमा रहेका कारण पनि सोमबार बस्ने संसद् बैठकमा उपस्थिति हुन नसक्ने बताए । ‘हाम्रो पार्टीको राष्ट्रिय अधिवेशन पनि छ । हामी सबै सांसदहरू केन्द्रीय सदस्य हौँ । भोलि उपस्थित हुन सक्दैनौँ,’ उनले भने । उनले सरकारलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा अगामी अन्य संसद् बैठकमा विशेष समय लिएर प्रस्ट पार्ने बताए ।

उता, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मुख्यमन्त्री कार्कीलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गरिनसकेको बताएका छन् । दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दलले सोमबार बिहान बैठक बसेर निर्णय दिने बताए । ‘तत्काल हामी सरकारमा जाँदैनौं । तर, सरकारलाई समर्थन गरेर बाहिरै बस्ने कि समर्थन नदिने भन्ने विषयमा भोलि निर्णय गर्छौं,’ सिटौलाले भने । उता, जसपा नेपालकी सांसद निर्मला लिम्बूले भने आफूले सरकारलाई विश्वासको मत दिने बताइन् । ‘हाम्रो दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन्छ,’ उनले भनिन्, ‘हामीले समर्थन गरिसकेका छौँ ।’

एमालेका उपसभामुखसहित ४० र माओवादीका १३ जना सांसदको समर्थनमा कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका मुख्यमन्त्री कार्कीको नियुक्ति प्रक्रियाका विरुद्धमा कांग्रेस सांसद तथा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन् । उक्त रिटको अन्तिम सुनुवाइका लागि अदालतले जेठ ९ गतेका लागि तोकेको छ । कोशी प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपा नेपालका १ सांसद छन् । जसपा नेपालकी सांसद निर्मला लिम्बूले केन्द्रमा पार्टी विभाजन भए पनि अहिले कुन दल रोज्ने भन्ने निर्णय गरिनसकेको बताएकी छिन् ।

footer