kumari
stcnepal

निक्षेपमा दिने औसतदर घटाए बैंकहरूले, सार्वजनिक गरे जेष्ठ महिनाको ब्याजदर

काठमाडौं । बाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर सूची सार्वजनिक गरेका छन् । बैंकहरुले वैशाखको तुलनामा निक्षेपमा औसत ब्याजदर घटाएर ल्याएका छन् । वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १९ वाणिज्य बैंकको औसत ७.१४ प्रतिशत रहेकोमा जेठ महिनाका लागि ७.०६ प्रतिशतमा कायम गरेका छन् ।

जेठ १ गतेदेखि लागू हुने गरी बैंकहरुले प्रकाशन गरेको विवरण अनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन् । वैशाखमा बैंकहरुको ब्याजदर औषतमा ७.१४ प्रतिशत रहेको थियो । जेठमा ०.०७ प्रतिशत बिन्दुले घटेर ७.०७ प्रतिशत रहेको छ । जेठ महिनामा १० वटा बैंकले ब्याजदर घटाएका छन् भने ७ वटा बैंकको ब्याजदर स्थिर रहेको छ । तीनवटा बैंकले जेठ महिनाका लागि ब्याजदर बढाउने भएका छन् । ब्याजदर स्थिर राख्ने बैंकमा नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्टयान्डर्ड चार्टर्ड, हिमालयन, लक्ष्मी सनराइज, कुमारी, माछापुच्छ्रे बैंकले जेठमा ब्याजदर स्थिर राखेका छन् । ब्याजदर बढाउने बैंकमा ग्लोबल आइएमई, एनआईसी एशिया र प्रभु बैंक रहेका छन् । ब्याजदर घटाउने बैंकमा नबिल, प्राइम, एभरेष्ट, एनएमबि, राष्ट्रिय वाणिज्य, सिद्धार्थ, नेपाल एसबिआई र सिटिजन्स बैंक रहेका छन् ।

जेठमा एनआनईसी एशिया र एनएमबि बैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन् । दुवै बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ७.८ प्रतिशतसम्म ब्याज दिने भएका छन् । सबैभन्दा थोरै ब्याजद नेपाल एसबिआई बैंकको रहेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६.३९ प्रतिशत ब्याज दिने भएको छ । सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा ७ बैंकले वैशाखकै दरलाई यथावत राखेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलताका बाबजुत कर्जा प्रवाह न्यून भएसँगै बैंकहरूले ब्याजदर घटाउँदै लगेका हुन् । व्यक्तिगत मुद्दतीमा दिएको अधिकतम ब्याजदरको १ प्रतिशत विन्दुभन्दा कम मात्रै संस्थागत ब्याजदर दिन सक्ने व्यवस्था छ । यसअनुरुप अब संस्थाहरुलाई बैंकले ६.८ प्रतिशतभन्दा धेरै ब्याजदर दिने छैनन् । त्यस्तै रेमिट्यान्स मुद्दतीमा खातामा भने बैंकहरुले ८.८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।

यसअघि गत वर्षको चैतको तुलना गर्दा निक्षेपको ब्याजदर १.७३ प्रतिशत बिन्दुले घटेको थियो । गत वर्षको चैतमा पनि बैंकको निक्षेपको औसत ब्याजदर ८.२६ प्रतिशत कायम थियो । राष्ट्र बैंकका अनुसार गत साउनमा पनि निक्षेपको औसत ब्याजदर ८ प्रतिशत, भदौमा ८.०६ प्रतिशत रहेको थियो । त्यसपछि निरन्तर घटी रहेको छ । गत असोजमा ७.९० प्रतिशत, कात्तिकमा ७.७६ प्रतिशत, मंसिरमा ७.६२, पुसमा ७.३२, माघमा ७.०१, फागुनमा ६.७४ प्रतिशत रहेको थियो । यसरी निरन्तर निक्षेपको ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि सस्तिदै आएको छ । लागत घट्दा बैंकहरूको आधार दर (बेस रेट) पनि घट्न थालेको छ । चैतमा बैंकहरुको औसत आधार दर ८.९१ प्रतिशतमा झरेको छ । एक वर्षको अवधिमा बैंकहरुको औसत आधार दर १.९७ प्रतिशत बिन्दुले घटेको हो । गत वर्षको चैत महिनामा भने १०.४८ प्रतिशत थियो । आधार दर घट्दै जाँदा ऋणीलाई नै राहत हुने गरेको छ । यसले कर्जाको ब्याजदर घटाउँछ । त्यसयता पनि यो दल घटिरहेको छ ।

राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदरमा उतारचढाव कम गर्न भन्दै ब्याजदर निर्धारण गर्ने आधारको रुपमा सोही वर्गको बैंकहहरुले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ । बैंकहरुले गत साउनदेखि भद्र सहमति खारेज गर्दै आफ्नो रणनीति अनुसार ब्याजदर प्रकाशित गर्दै आएका छन् ।

footer