काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गतिरोध निकासको दिशातर्फ अगाडि बढेको बताएका छन् । नेकपा(माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहमति र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गरेका हुन् ।
कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालको लोकतन्त्र सुदृढीकरण गर्नका लागि पनि कम्युनिस्ट विचारहरू एकीकृत हुनुपर्ने बताए । ‘समाजवादी क्रान्तिलाई अगाडि बढाउन कम्युनिस्ट विचार एक ठाउँमा आउनुपर्छ, त्यसका लागि सकारात्मक वातावरण बनेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, ‘कम्युनिस्ट आन्दोलनका दस्ताबेजलाई एकीकृत गर्नुपर्ने अवस्था आएको छ । लोकतन्त्र सुदृढीकरण र जनताको आकाङ्क्षा पूरा गर्नका लागि सबै एकीकृत हुनुपर्छ ।’ प्रधानमन्त्री प्रचण्डले नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा प्रकाशित ‘नेपाली कम्युनिस्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्ताबेजहरू ग्रन्थ–२’, आस्था केसीद्वारा लिखित ‘जनयुद्धका चिठी’ र कालिकोट स्मारिकाको आज विमोचन गरे ।