kumari
stcnepal

सर्वोच्चले गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्यो

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गरेको छ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले सोमबार मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत संविधान सम्मत नभएको भन्दै बदर हुने फैसला सुनाएको हो । सर्वोच्चको यो फैसलासँगै मुख्यमन्त्री अधिकारीले पद गुमाएका छन् । नेकपा एमालेबाट मुख्यमन्त्री भएका अधिकारीले ६० सदस्य प्रदेश सभामा ३० जनाको मत पाएका थिए । उनको विश्वासको मतलाई सभामुखले बहुमत भनी सदर गरेपछि नेपाली कांग्रेसले सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले अधिकारी विरुद्ध दर्ता गराइएको यो दोस्रो रिट थियो । यसअघि दायर भएको रिट सर्वोच्चले खारेज हुने फैसला सुनाएको थियो । उक्त फैसलापछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएका थिए । विश्वासको मत पाउनका लागि एक मत कम भएको भनी विवाद भइरहेको समयमा सभामुखले ३० मत प्राप्त गरे पनि उपस्थित सांसदको सङ्ख्या ५९ भएको भन्दै बहुमत भएको तर्क गरेका थिए ।

footer