kumari
stcnepal

कमिटमेन्ट फाइनल नगरिदिनुहोला भनेर प्रमले भन्नुभयो : माधवकुमार नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता र संवाद जारी रहेकाले मधेस प्रदेश सरकारबारे अन्तिम निर्णय गर्न बाँकी रहेको बताएका छन् । यद्यपि उनले मधेसमा जसपा विभाजनपछि समस्या आएको भन्दै आफूहरू अहिलेसम्म पहिलाको सहमति अनुसार नै सरकारमा रहेको बताए ।

‘वार्ता र संवादहरू भइरहेका छन् । ती वार्ता र संवाद सकारात्मक छन्’, अध्यक्ष नेपालले भने, ‘अहिले भर्खर पनि म प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेर यहाँ आएको छु । तर अन्तिम निर्णय गर्न बाँकी नै छ ।’ उनले वार्ता र संवाद सकारात्मक भए पनि मधेस प्रदेश सरकारबारे अन्तिम निर्णय गर्न बाँकी नै रहेको बताए ।उनले आफूहरू केन्द्र सरकारमा पनि रहेको भन्दै मधेसमा पनि पहिला देखि नै सरकारमा रहेको निरन्तरता भएको बताए । ‘अस्ति मात्र एमाले र माओवादी केन्द्रसँग वार्ता र संवाद भयो । वार्ताको क्रम चलिरहेको छ । भर्खर मात्र प्रधानमन्त्री प्रचण्डसँग कुरा गरेर आएको छु’, उनले त्यही क्रममा केही दिनअघि प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको निवासमा पनि अन्य दलका नेतासँग कुराकानी भएको बताए ।

देउवासँगको छलफल गर्ने क्रममा आफूले प्रधानमन्त्री प्रचण्डलाई पनि सोधेको भन्दै त्यसक्रममा प्रधानमन्त्रीले छलफल गरे पनि कमिटमेन्ट नगर्न भनेकाले कमिटमेन्ट नगरेको बताए । ‘कमिटमेन्ट फाइनल नगरिदिनुहोला भनेर प्रमले भन्नुभयो’, अध्यक्ष नेपालले भने, ‘यसरी नै संवाद र छलफल भइरहेको छ । संवादमा विश्वास चाहिन्छ । विश्वासको आधारमा सहमति हुन्छ’, नेपालको भनाइ छ । उनले सरकारबाट हटौँ र नहटौँ भन्ने दुवै मत रहेको पनि बताए ।

footer