kumari
stcnepal

आम नागरिक धर्मसंकटमा : मृत्यु रोज्ने कि बिद्रोह ?

 

राजन कार्की
सार्वभौमिकताको कुरा गर्ने, अस्तित्व रक्षा गर्न नसक्नेहरु भनेका कायर हुन् । कायर हुनु भनेको दास मानसिकता हो । हाम्रा लोकतान्त्रिक भनिएका अधिकांश नेतृत्वकण कायर अर्थात मृत्युलाई लोकतन्त्र भनेर भ्रम छरिरहेका छन् । यसकारण देश सिक्किम हुनमात्र बाँकी भयो ।
संसद र सरकार, सांसद र तिनको चरित्र १९७५ को सिक्किमको राजनीतिभन्दा भिन्न छैन । त्यतिबेला सिक्किमका ३२ सांसदमध्ये ३१ ले भारतको प्रान्त भएर बस्न मञ्जुर छ भनेर संसदबाटै प्रस्ताव पास गरेका थिए । नेपालका सांसदहरुमा बिरालाकोटीले नामञ्जुर गर्लान्, बाँकी सत्ता, सम्पत्ति र शक्तिका खातिर सिक्किम बन्न सहमति जनाउने छन् भन्ने कुरा तिनका व्यवहारबाट प्रमाणित भएका छन् ।
अचम्म, आफू उभिएको नेपाली धर्ती भारतले भारतमा मिसायो । सार्वभौम भनिएका जनप्रतिनिधि, लोकतान्त्रिक सरकार आफ्नो देशको साँध सिमानाका बारेमा बोल्न सक्दैनन् । गरुढको छायाम परेको सर्पजस्तो, देशबासीलाई डस्ने, गरुडका सामु लम्पसार परेको देखिन्छ । यस्तो अस्तित्वविहीन, मूर्दा राजनीति भनेको मरेको राजनीति हो ।
यिनले देशलाई सिक्किम हुनबाट बचाउछन् भनेर कसैले विश्वास गर्न सक्दैनन् ।
यिनका माइवाप दिल्ली विश्वविद्यालयका लागि डा.सुभाष काश्यप र विश्वप्रकाश गुप्ताले तयार गरेको राजनीतिक कोषमा राष्ट्रघात गर्ने प्रतिनिधि पात्रका रुपमा क्विजलिङ र लेण्डुप दोर्जीको नाम उल्लेख भएको छ । क्विजलिङ युरोपका थिए भने लेण्डुप १९७५ मा सिक्किम बिलय हुनुपूर्वका नेता थिए । राष्ट्रघाती अर्थात देश बेचुवाको अर्को नाम क्विजलिङ अथवा लेण्डुप दोर्जी भन्ने पर्याय यसरी चलेको देखिन्छ ।
विद्वानहरुले रामायणकालमा श्रीलंकापति रावणका भाइ बिभिषण, मुगलकालका मीरजाफर र मीर कासिम तथा क्विजलिङ् र लेण्डु दोर्जीलाई देश बेचुवाका रुपमा उभ्याएका छन् । यी सबै प्रतिनिधिपात्रहरुले आप्mना कालखण्डमा कसरी आफ्नो मातृभूमिको स्वतन्त्र अस्तित्व र अस्मितालाई समाप्त पार्न कसरी विदेशी आक्रमणकारीको सहयोग गरेका थिए भन्ने घटनाक्रम पनि उल्लेख गरिएको छ । यसमध्ये भारतवर्षका ५ सय ३७ राजामहाराजामध्ये चयचन्द पनि त्यस्तै देशघाती थिए, जसले स्वार्थका लागि अंग्रेजको पाउमा लम्पसार परे, देशवाद सिध्याए ।
व्यवस्था परिवर्तनको १८ वर्षमा सरकार बनिरहेका छन्, नीति तथा कार्यक्रम आइरहेका छन् । १० वर्षे जनयुद्धका घाउहरु चर्किरहेकै छन् । संक्रमणकालीन न्याय व्यवस्था सम्पन्न भएको छैन । संविधान कार्यान्वयन भयो भनेर गफ हा“किएको छ । राष्ट्रिय मुद्दाहरु एकपछि अर्को थपिदैछन् । बिगत १८ वर्षको अवधिमा विदेशी हस्तक्षेप र चलखेल यसरी बढ्यो कि राजनीतिक भागबण्डाले अफिमको नशाजस्तै सत्ता र शक्तिको नशामा झुम्न पुगेका नेताहरुले आफू उभिएको लोकले तय गरिदिएको नैतिक आधारसम्म पनि बिर्सन पुगे । लोकतन्त्र लूटतन्त्र बन्यो ।
यत्र तत्र सर्वत्र राष्ट्रघात भन्दा केही देखिदैन । जनघात र देशघात लोकतान्त्रिक राजनीतिको विशेषता बनेको छ ।
राष्ट्रिय जीवनमा विश्वासको संकट परिसक्यो । यसकारण आशंकाको कालो बादलले घरेको छ । पालिका, प्रदेश, केन्द्र, प्रतिनिधिसभा, राष्ट्रियसभा जता हेरे पनि जनताका आशा र अपेक्षामा कुनै बहस नै हुँदैन । सबैलाई स्वार्थपूर्तिकै चटारो छ ।
हिंसात्मक माफिया राजनीतिमा व्याप्त छन् । शासन प्रशासनमा माफियाको घेरामा कैद छ । नातापातादेखि खरिदबिक्रीका सांसद देखिए । फौजदारी अभियोग लागे पनि सांसद भए, त्यस्ता सांसदका अपराध माफी दिइयो । मानौं, सांसद भनेका पञ्चखत माफी पाउने जात हो । डामेर छाडिएका साँढे हुन्, यिनलाई जे गर्न पनि छुट छ । भूराजनीति विश्वशक्तिको खोरिया बन्यो, राष्ट्रिय राजनीति भ्रष्टहरुको परेड मैदान ।
वेष्ट मिनिस्टर पद्धतिमा भन्नलाई सांसदहरु लोकतन्त्रमा विधिको शासन हुनुपर्छ पनि भनिरहेका छन् । के हो विधिको शासन भनेको ? विधि निर्माताको पदमा बसेर ठेकेदारी चलाउन खोज्नेहरु सौ मुसा खाकर बिल्ली चली हजको चरित्र देखाइरहेका छन् । यस्तो चरित्रले नीति, नैतिकता र लोकाचार कायम रहनसक्दैन । निष्ठा नै नभएकालाई कानुन के, संविधान के ? यिनका लागि स्वार्थभन्दा माथि अस्तित्व पनि छैन ।
यिनले बनाएको संविधान उत्तम भनिएको छ, उत्तम संविधान असफल भयो भनेर आवाज बाक्लिदै गएको छ । जनता बिद्रोहको मूडमा पुगिसके । बिद्रोहको नेतृत्वको कमी खड्किएको छ । सत्ता स्वार्थन्धहरु कहिले प्रतिगामी, कहिले स्वाधीनता र नागरिक सर्वोच्चता, कहिले अर्जुनदृष्टि र अहिले एकलव्य प्रयासका कुरा गरिरहे पनि कहालीलाग्दो अनिष्ठको काला बादल मडारिन थालेको छ । कारण एउटै छ, यिनका लागि सत्ता प्रमुख भयो ।
यो राष्ट्र हाम्रो हो, हामी सबै मिलेर सहमतिमा शान्ति प्रक्रिया टुङ्ग्याउनु पर्छ, नयाँ नेपालको निर्माण गर्नुपर्छ र नेपाललाई अग्रगमनका साथ स्थिरता दिनुपर्छ भन्ने उच्च सोच कुनै पनि नेता वा दलले गर्नै सकेनन् । पूर्वराजाले सहमति र सहकार्यको आह्वान गर्दा यिनको भेजामा छिरेन ।
प्रत्येक पार्टीभित्र कुनै न कुनै प्रकारको उग्रता छ । त्यसमाथि प्रजातन्त्रको बिडा उठाएको कांग्रेस, उग्रदक्षिणपन्थी मधेसीहरु, उग्रवामपन्थी एमाओवादी, वामवादी र एमालेको लोकतन्त्र प्रयास, यी सबै उग्रतावीच नेपाली सार्वभौमिकता र स्वाधीनतामा अडिग छौं भन्ने अडान चाहिं कुनै नेता, पार्टीमा छैन । अलिकति देशभक्त भएजस्तो, धेरै लेण्डुप भएजस्तो, स्वार्थका लागि जता पनि मल्को, जता पनि ढल्को बनेको छ लोकतन्त्र ।
हरेक नेता, सत्ताका पुजारी, सत्तालिप्साका भोका । देश र जनतामाथि किर्ना बनेर चुस्न पाइन्छ भने विदेशीका सामु लम्पसार पर्न पनि तैयार । कति दयनीय छ हाम्रो लोकतान्त्रिक राजनीति । राजनीति व्यवसाय बन्यो । स्वार्थ मिलेन अथवा स्वार्थमा धक्का लाग्यो कि एकले अर्कोलाई विदेशी कठपुतली, भ्रष्ट, अनैतिक भनिहाल्छन् । गालीगलौज र सेटिङमा सहमति यिनको नानीदेखिको बानी हो । यति भए पनि कम्तिमा नेपालीत्वका लागि त एक हुनु नि । छैन, यी माटोमा उभिएका छन् कि मनीमा, सिद्धान्तमा उभिएका छन् कि स्वार्थमा ? जनता र विश्वलाई थाहा भइसक्यो ।
लोकतन्त्रमा लोक मालिक हुनुपर्ने हो, लोक त भोट खसाल्ने मेसिनमा सिमित भए । लोकको दुर्दसा र देशको बेहालको कारण नेतातन्त्र हो, जो राजनीतिका नाममा पसल चलाएर मुनाफा कमाइरहेका छन् । लोकतन्त्र जंगलराज बन्नपुग्यो ।
नेतृत्वतह बेला बेलामा बोल्छन् । विवेक बोलेर के गर्ने, स्वार्थीहरुको चेपुवामा च्यापिन्छन् र तमासे बन्छन् । देशभक्तको लामो लर्को, जो अगाडि आउन बन्चित छ । देउवा, ओली प्रचण्डदेखि ससाना दलका नेताहरु नेपालवादी हुँ भन्छन्, नेपालको भूमि विदेशीले खाइसक्यो, जिब्रो तालुमा टाँसेर बसेका छन् । यी केको नेपालवादी । लेण्डुपवादी हुन् ।् यिनले न देश बचाउन सके, न देश बनाउने । यी आफू र आफन्तलाई बनाइरहेका छन् ।
०४६ सालपछिको बहुदलकालमा देउवाले सत्ता बचाउन सांसदलाई थाइलेण्डको बेश्यालयसम्म पु¥याए, पजेरो उपहार पनि दिए । सत्ता बचाउन र लामो समय वाम सरकार चलाउने नाममा ओली र प्रचण्डले जेजस्तो नाटक मञ्चन गरिरहेका छन्, त्यो राजनीतिक बेश्यावृत्ति नभए के हो ? ठुला मामाको त यो गति कान्छामामाको कुन गति ? यो देशमा भ्रष्टाचार शिष्टाचार बनिसक्यो । हत्याहिंसा शासनको विशेषता भइसक्यो । यो प्रवृत्ति भनेको देश समाप्ततिर लागेको परिदृश्य हो ।
नेताहरु देशलाई दिलमा राखेर शीर उठाउँदैनन्, तिनीहरु राजनीतिका नाममा व्यापार गरिरहेका छन् । आउँदा पुस्तालाई पराधीन बनाउने साजिस गरिरहेका छन् । बलात्कार बालिका अथवा महिलाको मात्र हुन्न, देशको पनि हुन्छ । यतिबेला नेपालको संघीय लोकतान्त्रिक शासन प्रणालीको बोर्ड झुण्ड्याएर यसको पछाडि नेताहरुले देशमाथि बलात्कार गरिरहेका छन् । जनता बोल्छन्, संगठित भएर बोल्न सकिरहेका छैनन् ।
लोकतन्त्रमा लोक बलियो हुनुपर्छ । लोक सबैभन्दा कमजोर र दयनीय अवस्थामा तमासो बन्न पुगेको छ । शासन प्रणालीको निर्णय गर्ने लोकबल नेताको बाहुबलमा रुपान्तरण हुनपुगेको छ । नेताहरुको आडमा माफिया र डनहरु हिंस्रक जनावर बनिरहेका छन्, देश र लोकको अस्मिताको सिकार गरिरहेका छन् । यो हिंस्रक राजनीतिको अन्त भएन भने नेपाली अस्तित्वको अन्त हुनेछ । सिक्किमपछि नेपालमा लेण्डुप देखिएका छन् ।
लेण्डुपदेखि सावधान । आमनागरिक लेण्डुपलाई खबरदारी गरौं ।

 

footer