kumari
stcnepal

गण्डकी प्रदेश सभामा फ्लोर क्रस गरेका फणीन्द्र देवकोटा माथि कारबाही हुन्छ : माओवादी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सभा संसदीय दलका नेता हरिबहादुर चुमानले ह्विप उलङ्घन गरेकोमा प्रदेशसभा सदस्य फणीन्द्र देवकोटामाथि कारबाही गर्ने बताएका छन् ।

सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा देवकोटाले मत दिएका थिए । दलको ह्विप उलङ्घन गरेकाले देवकोटामाथि कारबाही गरिने चुमानलेबताए । ‘उहाँले दलको ह्विप उलङ्घन गर्नुभएको छ । संविधान र कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउँछौं । कारबाहीको जानकारी पार्टी केन्द्रलाई पनि दिनुपर्छ । कारबाहीको सबै प्रक्रिया पुरा भएपछि संसद् सचिवालयमा पेस गरिन्छ । कारबाही भएको कुरा सभामुखले संसदमा जानकारी दिएपछि पदमुक्त हुनुहुनेछ’, उनले भने ।

देवकोटा माथिको कारबाही अप्ठ्यारो सम्बन्धमा प्रश्न गर्दा त्यसको कुनै अर्थ नभएको चुमानले बताए । ‘कानुनमा स्पष्ट छ । उनको अर्को दल छैन । माओवादीको चुनाव चिन्ह लिएर जितेपछि माओवादी संसदीय दलको सदस्य हुनुहुन्छ’, उनले भने, ‘कानुन बमोजिम कारबाही हुन्छ । चित्ता नबुझे अदालत जान सक्नुहुन्छ ।’प्रदेशसभामा माओवादीको सभामुख सहित ८ सिट रहेको छ । गएको निर्वाचनमा देवकोटा गोरखा २(१)बाट निर्वाचित भएका थिए । चैत ३ गते नेपाल समाजवादी पार्टी विभाजन भएपछि माओवादीको चुनाव चिह्नबाट जितेका उनी बाबुराम भट्टराई समूहमा खुलेका थिए ।

footer