kumari
stcnepal

बजेट माथि सामाजिक सञ्जाल र अन्य माध्यमबाट आलोचना गर्ने भन्दा पार्टीको बैठकमा छलफल गर्नु उचित : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको समयमा भन्दा अहिले गरिबी बढेको बताएका छन् । तीन वर्षअघिको सरकारले गरिबीको रेखामुनि रहेकाहरुको संख्या १७ प्रतिशतमा झारेकामा अहिले बढेर २०.२६ प्रतिशत पुगेको उनले बताए ।

शनिबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै उनले भने, ‘यो निरपेक्ष गरिबीको रेखामुनि भन्ने कुरा जुन छ, यसलाई ५/७ वर्षभित्र समाप्त गर्न सकिन्छ, धेरै समय लाग्ने विषय होइन, तर यो चालु छ, हामीले घटाएर ९/१० लाख जनतलाई निरपेक्ष गरिबीको रेखाबाट माथि उठाएर १७ प्रतिशतमा झोरेका थियौं, ३ वर्षमा बढेर २०.२६ प्रतिशत पुगेको छ ।’ यति धेरै विकासका पूर्वाधार निर्माणका बाबजुद गरिबी बढिरहेको भन्दै ओलीले उद्यमशीलता विकास गर्न नसके पूर्वाधारले खर्च मात्र बढाउने बताए । ‘पूर्वाधारको सही सदुपयोग गर्न सकिएन भने पूर्वाधार नै विकास होइन, त्यस पूर्वाधारलाई प्रयोग गरेर विकासका कामलाई अगाडि बढाइनुपर्छ । विकास अगाडि बढाइएन भने पूर्वाधारले खर्च बढाउँछ, उत्पादकत्व बढाइएन भने पूर्वाधारहरुले गरिबी बढाउन पनि सक्छ’, उनले भने ।

उद्यमशीलताको विकास गरेर उत्पादकत्व बढाउनैपर्ने भन्दै ओलीले त्यसको बाटो मुलुकको बजेट भएको बताए । त्यसैले संसदमा एक–दुई जनाको मुख हेरेर बजेट माथिको छलफललाई कमजोर नबनाउन उनले सांसदहरुलाई आग्रह गरे । ‘एक–दुई जनाको मुख हेरेर, अनि हामी सरकारमा छौं भनेर गरिबीतिर गए पनि के भो र देश हामी सरकारमा छदैछौं भनेर हुन्छ ?’, ओलीले प्रश्न गरे, ‘हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर देशलाई विकासतर्फ अगाडि बढाउन हामी सरकारमा गएको हो, त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ?’ उनले एमालेकै नेताहरुले सम्हालेको मन्त्रालयको विनियोजनमाथि पनि पर्याप्त छलफल गर्न आग्रह गरे । ‘हामीले नै चलाइरहेका मन्त्रालयको कस्तो छ स्थिति ? कस्तो छ त्यसको विनियोजन ? त्यो पनि अलिकति हेर्नुपर्ने हुन्छ । यी सबै विषयमा साथीहरुले खुलेर छलफल गर्नुस्’, ओलीले भने ।

बजेट माथि सामाजिक सञ्जाल र अन्य माध्यमबाट आलोचना गर्ने भन्दा पार्टीको बैठकमा छलफल गर्नु उचित हुने बताए । ‘बाहिर बजारमा भन्दै हिँड्ने, कुनै फेसबुकले तपाईको कुरा सच्याएर ल्याइदिँदैन, ठीक ठाउँको छलफल, ठीक ठाउँको सुझाव र ठीक ठाउँको निर्णयले मात्र स्थितिमा परिवर्तन आउँछ’ ओलीले भने, ‘…तर हामीले फेरि खण्डन मण्डन त गर्नुपर्ने हुन्छ ।’

footer