kumari
stcnepal

टी २० विश्वकपमा भारतद्वारा बंगालादेश पराजित

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको शनिबार राति खेलिएको ‘सुपर–८’ चरणको खेलमा भारतले बंगलादेशलाई ५० रनले हराएको छ । जितसँगै भारतले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । जारी विश्वकपमा भारत हालसम्म अपराजित छ ।

लगातार दोस्रो हारसँगै बंगलादेशको सेमिफाइनलमा पुग्ने सम्भावना भने निकै कमजोर बनेको छ । भारत र बंगलादेश ‘सुपर–८’ चरणको ‘समूह–१’ मा छन् । दुई खेलबाट चार अंक बटुलेको भारत तालिकाको पहिलो स्थानमा उक्लिएको छ । एक खेलबाट दुई अंक जोडेको पूर्वविजेता अस्ट्रेलिया तालिकाको दोस्रो स्थानमा छ । एक खेल खेलेको अफगानिस्तान शून्य अंक सहित तालिकाको तेस्रो स्थानमा छ । दुई खेल खेलेको बंगलादेशले पनि हालसम्म अंक बटुल्न सकेको छैन ।
शनिबार रातिको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४६ रनमात्र बनाउन सक्यो । भारतको जितमा हार्दिक पाण्ड्याले अर्धशतकीय योगदान गरे । उनले केवल २७ बलमा तीन छक्का र चार चौकाको मद्दतले अविजित ५० रन बनाए । ओपनर विराट कोहलीले पनि ३७ रन बनाए । विराटले २८ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काए । कप्तान रोहित शर्माले पनि टोलीको खातामा २३ रन थपे ।

बंगलादेशका बलर तान्जिम हसन सकिबले दुई विकेट लिए । रिसाद होसैनले पनि दुई विकेट हात पारे । सकिब अह हसनले पनि एक विकेट लिए । ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशका लागि कप्तान नजमुल होसैन सान्तोले सर्वाधिक ४० रन बनाए । ओपनर तानजिद हसनले २९ रन जोडे । भारतीय टोलीका बलर कुलदीप यादबले तीन विकेट लिए । उनले चार ओभरमा केवल १९ रन खर्चिए । जसप्रित बुमराह र अर्शदीप सिंहले दुई–दुई विकेट लिए । हार्दिक पाण्ड्याले पनि एक विकेट हात पारे ।

footer