kumari
stcnepal

ग्लोबल आइएमई बैकको निक्षेप ५ खर्ब नाघ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकवर्गको विश्वासलाई उजागर गरेको छ । नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ । बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरुमा निक्षेप बढेको हो ।

ग्लोबल आइएमई बैंक निक्षेपका साथसाथै धेरै सूचकहरुमा अन्य बैंक तथा वित्तीय संस्थाहरुभन्दा अगाडि रहेको छ । वाणिज्य बैंकहरुको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आइएमई बैंकको निक्षेप तर्फको बजार हिस्सा ८.८३ प्रतिशत हाराहारी रहेको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले ग्राहक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै ग्लोबल आइएमई बैंकको ५०० अर्ब रुपैयाँ भन्दा बढि निक्षेप हुने विषय यस बैंकको मात्र सफलताको प्रतिबिम्ब नभई, नेपालको बैंकिङ क्षेत्रको बढ्दो विस्तार र गतिशीलताको संकेत रहेको बताए ।

“निक्षेप रकम ५०० अर्ब रुपैयाँ पुग्नु हाम्रो लागि एक उल्लेखनीय उपलब्धि हो । यो उपलब्धि हामीले उत्कृष्ट बैंकिङ सेवाहरू प्रदान गर्दै हाम्रा ग्राहकहरूसँग सुमधुर सम्बन्ध स्थापना गर्न सफल रहेको प्रमाण हो । यसले हामीलाई भविष्यमा बैंकिङ्ग क्षेत्रमा थप नयाँनयाँ प्रविधिहरु भित्र्याउँदै सबैका लागि उत्कृष्ट र विश्वासनीय बैंकिङ्ग सेवाहरु प्रदान गर्न थप प्रेरणा दिनेछ,” उनले भने, “हामीले यो उपलब्धीलाई हाम्रो बैंकको मात्र नभई समग्र नेपाली बैंकिङ्ग क्षेत्रको उपलब्धीको रुपमा लिएका छौँ ।” ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।

आधा करोड हाराहारी ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याने काम गर्दै आएको छ ।

footer