kumari
stcnepal

कांग्रेसका नेता कोइराला र महामन्त्री थापा पक्षबाट मन्त्रीका लागि चार जनाको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा पक्षबाट मन्त्रीका लागि चार जनाको नाम सिफारिस गरिएको छ ।

नेता शेखर कोइराला पक्षका एक केन्द्रीय सदस्यले चार जनाको नाम पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको जानकारी गराए । उनका अनुसार प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरीको नाम सभापतिलाई बुझाइएको हो । शेखर–गगन पक्षले आफ्नो समूहबाट चार जना मन्त्री पाउनुपर्ने समूहको बैठक बसेर निर्णय आइतबार बिहान गरेको थियो । उक्त समूहबाट मन्त्रीका लागि चर्चामा रहेका सहमहामन्त्री जीवन परियारको नाम भने छुटेको छ ।

संस्थापन इतरका एक नेताले भने, ‘सहमहामन्त्री भएकाले जीवन परियार स्वतः पर्नुपर्छ भन्ने थियो । प्रदीप पौडेलका लागि महामन्त्रीको जोड थियो,’ उनले भने, ‘रामनाथ अधिकारी र हृदयराम थानी शेखर दाइको रोजाइमा हुनुहुन्थ्यो ।’ प्रदीप पौडेलका लागि महामन्त्रीको जोड तथा अधिकारी र थानीका लागि शेखरले बल गर्दा जीवन परियारको नाम पर्न नसकेको उनले सुनाए ।

संस्थापन इतरका चार जनामा तेजुलाल चौधरीको नाम सिफारिसमा परे पनि उनी राष्ट्रपति रामचन्द्र पौडेलको जोडमा सिफारिसमा परेको कांग्रेसका नेता बताउँछन् । मन्त्रीको सूचीमा परेका भनिएका रामनाथ अधिकारी र हृदयराम थानीले आफूहरुलाई हालसम्म औपचारिक जानकारी केही नआएको बताएका छन् ।

 

footer