kumari
stcnepal

संसद्का दुई ठुला दल मिलेर सरकार बनाउनु आफैँमा विडम्बनापूर्ण : कमल थापा

काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठुलो तामझाम, आश्वासन र प्रतिबद्धता व्यक्त गर्दै (नेकपा) एमाले र नेकपा (माओवादी केन्द्र) ले गठन गरेको सत्ता गठबन्धनलाई चार महिनामा नै विस्थापित गर्दै कांग्रेस र एमालेले नयाँ गठबन्धन निर्माण गर्नुले गणतन्त्रको असफलतालाई फेरि एकपटक प्रमाणित भएको बताएका छन् । आज राप्रपा नेपाल काठमाडौँ जिल्ला समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले नेपाली राजनीतिमा विद्यमान सत्ताकेन्द्रित फोहरी प्रतिस्पर्धा, भ्रष्ट प्रवृत्ति र अस्थिरता पुनः उजागर भएको समेत टिप्पणी गरेका हुन् ।

नयाँ सत्ता गठबन्धन कुनै सिद्धान्त, नीति र जनादेशको आधारमा नबनेको भन्दै थापाले यो नितान्त सत्ता स्वार्थ र भ्रष्टाचारको कारबाहीबाट जोगिने रणनीतिको परिणाम मात्र भएको बताएका छन् । संसद्का दुई ठुला दल मिलेर सरकार बनाउनु आफैँमा विडम्बनापूर्ण भएको भन्दै थापाले यो संसदीय मूल्य र मान्यताविपरीतको कार्य भएको समेत बताए । संविधान संशोधनको निम्ति नयाँ गठबन्धन बनाउनु परेको अमूर्त तर्क केवल सत्ता आरोहणलाई पुष्टि गर्ने निरर्थक बहाना मात्र भएको भन्दै थापाले नेपाली काँग्रेस वा एमाले दुवैले आजसम्म आफ्नो पार्टी निकायमा संविधान संशोधन वा पुनरावलोकनको बारेमा कुनै छलफल वा निर्णय नगरेको हुँदा यो नक्कली कुरा भएको समेत उनले बताए । केवल सतही सुधारले देशले भोग्नुपरेको सङ्कटको समाधान हुन नसक्ने भन्दै थापाले देशलाई सङ्कटबाट मुक्त तुल्याउने हो भने संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विकल्प खोज्ने साहस गर्नुपर्नेमा जोड दिए ।

अहिलेको अवस्थामा सतही संविधान संशोधन होइन धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता बारे पुनरावलोकन गरी सबै नेपाली अटाउने हिन्दुराष्ट्र सहितको राजनीतिक प्रणाली निर्माण गर्न सर्वपक्षीय सम्मेलन वा ती विषयमा जनमत सङ्ग्रहको आवश्यकता रहेको उनको कथन थियो । संविधान संशोधन चर्चाको निशानामा समावेशी र समानुपातिक मान्यता परेको भन्दै धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र यो संविधानको विकृति हो भने समावेशीता र समानुपातिक प्रणाली संविधानको सबैभन्दा सकारात्मक पक्ष भएको समेत थापाले बताए । चार महिनामा नै हठात् र अप्रत्यासितरुपमा गठबन्धन र सत्ता परिवर्तन भएपछि भ्रष्टाचारले फेरि टाउको उठाउने मौका पाउने भन्दै थापाले नक्कली भुटानी शरणार्थी काण्ड, सुन तस्करी, गिरिबन्धु टी स्टेटको ब्रह्मलुट, ललिता निवास जग्गा कब्जा, टेरामेक्स काण्ड लगायतका भ्रष्टाचारका फाइलहरू अब दबाइने र भ्रष्टाचारीहरूलाई उन्मुक्ति दिइने आशङ्का बढेकोमा चिन्ता समेत व्यक्त गरे ।

footer