kumari
stcnepal

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले भोलि आइतबार विश्वासको मत लिने

बुटवल । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् ।

आइतबार दिउँसो १ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची पनि थप्न आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार कमल रायमाझीले जानकारी दिए । प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार मुख्यमन्त्री महराले भोलिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल भई उठेका प्रश्नहरुको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट मौजुदा मन्त्रिपरिषदमा कार्यविभाजन गरी पुनर्गठन गरिएको पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ । केन्द्रमा कांग्रेस–एमाले सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

माओवादी संसदीय दलका नेता महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अहिले मुख्यमन्त्री महरालाई माओवादीका १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक/एक गरी १२ जना प्रदेशसभाको समर्थन छ ।

footer