kumari
stcnepal

बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले दाबी पेस गर्दै

हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । बागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीका लागि आज नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले दाबी पेस गर्दै छन् ।

हेटौंडामा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार आह्वान गरेका थिए । उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनको आह्वान गरेका हुन् । नेकपा एमालेको समर्थनमा लामाले आज सोमबार १० बजेपछि मुख्यमन्त्रीमा दाबी पेस गर्ने कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।

दलको नेता छान्न भएको निर्वाचनमा उनले इन्द्रबहादुर बानियाँलाई पराजित गरेका थिए । लामाले २१ मत पाए भने बानियाँले १६ मत मात्र पाए । लामाले प्रदेश सभाको पहिलो दल कांग्रेसका ३७ र दोस्रो दल एमालेका २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् । बागमतीमा कांग्रेसले पहिलोपटक सरकारको नेतृत्व गर्दैछ । संघीयता लागू भएसँगै बागमतीमा चार जना मुख्यमन्त्री बने पनि कांग्रेसको नेतृत्वमा सरकार बन्न सकेको थिएन ।

प्रदेश प्रमुख शर्माले जम्कट्टेललाई अर्काे सरकार गठन नभएसम्मका लागि संविधानको धारा १६९ को उपधारा (३) बमोजिम काम चलाउ सरकारको रुपमा कार्य सञ्चालन गर्न अनुमति दिएका छन् । प्रदेश सभामा कांग्रेसको ३७ र एमालेको २७ जना सांसद छन् । ११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको बहुमत आवश्यक पर्छ । सात दलको प्रतिनिधित्व रहेको प्रदेश सभामा माओवादी केन्द्रका २१, राप्रपाका १३ (सभामुखसहित), एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

footer