kumari
stcnepal

पूर्वराज्यमन्त्री रामचन्द्र रायकै घरमा बास बसेका तीन जना मिलेर उनको हत्या गरेको खुलासा

काठमाडौँ । छलफलको बहानामा आएर पूर्वराज्यमन्त्री रामचन्द्र रायकै घरमा बास बसेका तीन जना मिलेर उनको हत्या गरेको खुलासा भएको छ ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरस्थित निवासमा बेलुका अबेरतिर आएका तीन जनाले पूर्वराज्यमन्त्री रायसँग आफूहरूको जग्गा विवाद मिलाइदिन अनुरोध गरेको बताइएको हो । पूर्वराज्यमन्त्री रायकै घरमा काम गर्दै आएका २१ वर्षीय युवकले प्रहरीलाई जनाए अनुसार राति अबेरसम्म पूर्वराज्यमन्त्री राय र उनीहरूबिच कुराकानी भइरहेको थियो । त्यसपछि पूर्वराज्यमन्त्री रायले नै आफूलाई सुत्नका लागि अर्कै कोठामा पठाएको बयान ती युवकले प्रहरीसमक्ष दिएका छन् ।

प्रहरीले पूर्वराज्यमन्त्री रायको घरमा काम गर्दै आएका ती युवकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ती युवकले नै राति शौचालय जान निस्किँदा पूर्वराज्यमन्त्री राय सुत्ने कोठाको ढोका खुला देखेर हेर्दा शव देखेपछि आफन्तलाई खबर गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती युवकले बेलुका आएर पूर्वराज्यमन्त्री रायको घरमा बसेका तीन जनालाई आफूले नचिनेको बताएका छन् । यद्यपि उनीहरूले जग्गाको विषयमा कुराकानी गरेको उनको भनाइ छ । पूर्वराज्यमन्त्री रायलाई घरेलु हतियार प्रयोग गरी हत्या गरेको पाइएको छ ।

footer