kumari
stcnepal

गृहको नेतृत्व परिवर्तन भए सँगै ५ एसपी र ९ डीएसपीको काज सरुवा

काठमाडौँ । गृह मन्त्रालयको नेतृत्व परिवर्तन भएसँगै प्रहरी प्रधान कार्यालयले ५ जना एसपी र ९ जना प्रहरी डीएसपीलाई काज सरुवा गरेको छ ।

प्रहरी नियमावली–२०७१ अनुसार इन्चार्ज भएर बस्ने प्रहरी अधिकृतहरूको सरुवा १ वर्षमा गर्नुपर्ने व्यवस्था छ । तर, गृह मन्त्रालयमा नेतृत्व फेरिएपछि हचुवाको भरमा प्रहरी अधिकृतहरूलाई सरुवा गर्ने ‘चलन’ स्थापित हुँदै छ । यसअघि रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री नियुक्त भएको १ महिनामा तराईका ६ जिल्लाका प्रहरी उपरीक्षकहरू सरुवा गरेका थिए । त्यसबेला महोत्तरीबाट श्याम कुमार राई र सर्लाहीबाट दयानिधि ज्ञवालीलाई ५१ दिनमा नै फिर्ता बोलाएका थिए ।

तनहुँका इन्चार्ज (एसपी) अपिल राज बोहरा २०८० फागुन १ मा सरुवा भएका थिए । त्यहाँ हाजिर भएको ५ महिनामा नै उनलाई हटाइएको छ । जुवाखालबाट ३ हजार ४ सय बरामद भएका ‘महिला समूह’ र बाघचाल खेल्नेहरूलाई मुद्दा चलाएको भन्दै उनलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले  बताए । प्रहरी ऐन र नियमावली विपरीत काम गर्नेलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने कानुनी व्यवस्था भए पनि हचुवाको भरमा अधिकृतहरू तानिँदै आएका छन् । उनले समन्वय गर्न नसकेको आरोप लगाइएको छ । तर, स्थानीय कांग्रेस नेतृत्वको आग्रहमा गृहमन्त्री रमेश लेखकले उनलाई सरुवा गर्न आईजीपीलाई निर्देशन दिएका हुन् । बोहरालाई हटाएर तनहुँमा वीरेन्द्र बहादुर शाहीलाई पठाइएको छ ।

रौतहटको चन्द्रनिगाहापुरमा कार्यरत गौरव महतलाई प्रधान कार्यालयले ७ महिनामा हटाएको छ । उनी पुस ९ मा हाजिर भएका हुन् । महत कसैको कुरा नसुन्ने र कानुन बमोजिम कारबाही गर्ने स्वभावका अधिकृतको रूपमा चिनिन्छन् । प्रहरी प्रधान कार्यालयले कास्की स्थित वडा प्रहरी कार्यालय बैदाममा डीएसपी राजेन्द्र श्रेष्ठलाई पनि अवधि नपुग्दै काज सरुवा गरेको छ ।

 

 

footer