kumari
stcnepal

बागमती प्रदेशमा कांग्रेस-एमाले बीच मन्त्रालय भागबण्डा टुंगियो

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएको छ । कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय लिने गरी सहमति भएको छ।

सोमबार मन्त्रालय भागबण्डा नमिल्दा र एमाले भित्र मन्त्री छनौटको आन्तरिक समस्याले मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिं लामाको दावी पेश गर्ने पूर्वनिर्धारित कार्यक्रम रोकिएको थियो । आज बिहान ११ बजे कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन् । मंगलबार ११ बजे दाबी पेश गर्न जाने तयारी भएको नेता लामाले जानकारी दिए । उनका अनुसार दावी पेशका लागि सबै प्रक्रिया पूरा भइसकेको छ । काठमाडौंमा रहेका एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बिहानै हेटौंडा फर्किएर दाबी पेश गरिने बताए ।

१३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिने सहमति भएको छ ।कांग्रेसलाई मुख्यमन्त्री सहित ५ र एमालेले जम्कट्टेल नेतृत्वको सरकारमा लिएको ५ वटा मन्त्रालयको भागबण्डा पहिल्यै टुंगिएको कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए । ‘५–५ वटा मन्त्रालयको कुरा पहिल्यै मिलिसकेको थियो । एकीकृत समाजवादीले लिएको दुई वटा मन्त्रालयमा मात्रै कुरा मिलेको थिएन,’ उनले भने ।

कांग्रेसले मुख्यमन्त्रीसँगै यसअघि माओवादीले सम्हालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयसहित संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालय लिएको सचेतक लम्सालले जानकारी दिए ।लम्सालकै अनुसार एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको छ ।

जम्कट्टेल नेतृत्वको सरकारमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले पर्यटन मन्त्रालय, एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठले कृषि, लक्ष्मण लम्सालले यातायात र रमा आलेमगरले युवा तथा खेलकुद मन्त्रालय चलाएका थिए । एमालेमा मन्त्री छनौटलाई लिएर समस्या भएको सांसदहरुले बताएका छन् । मन्त्री छनौटको प्रक्रियामै सांसदहरु बीच मतभेद भएको थियो ।

दलका नेता थपलियाले आइतबार बेलुका पार्टी केन्द्रीय नेतृत्वसँग काठमाडौंमा मन्त्री छनौट र मन्त्रालय भागबण्डा लगायतको विषयमा छलफल गरेका थिए । एमालेमा पूरा कार्यकाल अवधि सरकारमा नरहेकाले पुरानै मन्त्रीहरुलाई पठाउनु पर्ने र नयाँ तथा पुराना मिलाएर सरकारमा पठाउनुपर्ने विषयमा आन्तरिक छलफल भइरहेको पूर्वमन्त्री केशव पोख्रेलले बताए । एमालेका केही सांसदहरुले सरकारमा पठाउँदा नयाँ अनुहारका लागि प्राथमिकता दिनुपर्ने आवाज पनि पठाएका छन् ।

 

 

 

footer