kumari
stcnepal

भारतसँग पराजित हुँदै एसिया महिलाकपबाट बाहिरियो नेपाल

काठमाडौं- एसिसी महिला एसियाकप टी-२० क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ। समूहचरणको अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित हुँदै नेपाल प्रतियोगितबाट बाहिरिएको हो। नेपाल समिलित समूह ‘ए’ बाट भारत समूह विजेता र पाकिस्तान समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्न सफल भए।

आफ्नो अन्तिम खेलमा भारतले नेपाललाई १ सय ७९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा नेपालले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ९६ रन बनाएको थियो। नेपालका लागि सिता रानामगरले १८ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक रुविना क्षेत्रीले १५ रन बनाउँदा कप्तान इन्दु वर्माले १४ रन बनाएकी थिइन। त्यस्तै बिन्दु रावल १७ रनमा अविजित रहिन्। भारतका लागि दिप्ती शर्माले ३ विकेट लिंदा अरुन्धती रेड्डी र राधा यादवले समान २-२ विकेट लिए। त्यस्तै रेनुका सिंहले १ विकेट लिएकी थिइन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो। भारतका लागि ओपनर सफाली वर्माले ८१ रन बनाउँदा अर्की ओपनर दयालन हेमलत्ताले ४७ रन बनाइन्। उनीहरुले पहिलो विकेटका लागि १ सय २२ रनको साझेदारी गरेका थिए। त्यस्तै जेमिमा रोड्रिग्वेजले २८ रन बनाइन। नेपालका लागि सिता राना मगरले २ विकेट लिंदा कविता जोशीले १ विकेट लिएकी थिइन्।

समूहमा भारत सबै तीन खेलमा जित निकाल्दै ६ अङ्कका साथ शीर्ष स्थानमा रहँदा पाकिस्तान ४ अङ्क सहित दोस्रो स्थानमा रह्यो। त्यस्तै नेपालले युएइलाई पहिलो खेलमा हराउँदै २ अङ्क बनाएर तेस्रो स्थानमा रहँदा युएइ भने समूहमा अङ्क विहीन रहँदै घर फर्कियो। अब समूह ‘बी’ को समूहचरणका अन्तिम खेलसँगै दुबै समूहबाट सेमिफाइनल पुग्ने टोलीको तय हुने छ। समूह ‘बी’ मा श्रीलंका दुई जित सहित शीर्ष स्थानमा रहँदा थाइल्यान्ड र बंगलादेशले समान १-१ जित निकालेका छन्। अन्तिम खेलमा अब श्रीलंकाले थाइल्यान्डसँग भिड्दा बंगलादेश र मलेसियाबिच प्रतिस्पर्धा हुने छ।

footer