kumari
stcnepal

कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देललाई

काठमाडौं । नेपाली सेनाको कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देलले पाएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।हालका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल २४ भदौमा सकिंदैछ । त्यसको एक महिनाअघि विदा बस्ने सैनिक परम्परा भएकाले सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।

जन्ममिति विवादमा छानबिन भएपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका थिए । त्यसपछि सिग्देल प्रधानसेनापतिको रोलक्रममा आएका थिए । उनीबारे विवाद आएपछि जंगीअड्डाले आन्तरिक छानबिन गरेर कैफियत नरहेको बताएको थियो । जंगीअड्डामा ३ साउन २०८१ मा आयोजित पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता गौरवकुमार केसीले सिग्देलले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीबाट पहिलो पटक लिएको नागरिकता र पछि लिएको ‘प्रथम प्रतिलिपि’मा उमेर, प्रमाण पत्र नम्बर र जारी मिति फरक नपरेको बताएका थिए ।

सिग्देलले नेपाली सेनामा भर्नाका क्रममा पेस गरेको प्रवेशिका परीक्षा (एसएलसी) को प्रमाणपत्र र तत्कालीन सुपिङ बहुमुखी क्याम्पस (हाल सैनिक आवासीय महाविद्यालय) बाट जारी भएको प्रमाणपत्रमा पनि जन्ममिति फरक नपरेको उनको भनाइ थियो । योसँगै कामु प्रधानसेनापति सिग्देल २६ भदौपछि नेपाली सेनाको ४५औं प्रधानसेनापति बन्नेछन् ।

footer