kumari
stcnepal

त्रिभुवन विश्वविद्यालयमा भाँडभैलो

काठमाडौ । मुलुकमा यतिबेला बेथितिको राज भएको छ । सत्तामा बस्नेहरुले आफ्नो हात जगन्नाथ भन्ने उखानलाई चरितार्थ गरिरहेपनि सम्बन्धित निकाय मौन बसेर बेथितिलाई नै प्रोत्साहन दिँदै गएको छ । पहिला अस्थिर सरकार थियो त्यही बेला सत्ताधारीहरुले अस्थिर सरकार भएकाले नियमसँगत रुपमा काम गर्न नसकिएको बताउँदै आएका थिए । तर अहिले झण्डै दुई तिहाई नजिकको सरकार रहेको छ ।

संघीय संसदमा सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीको मात्र पनि एक्लै बहुमत रहेको छ । आफूलाई राष्ट्रवादी बताउने नेकपाका अध्यक्ष प्रधानमन्त्री रहेका छन् तर प्रधानमन्त्री केपी ओली कुलपति रहेको त्रिभुवन विश्वविद्यालय अहिले भ्रष्टाचार र अनियमितताका काण्डमा फसेको छ । कर्मचारी भर्नामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ भने सो मुद्दाको टुँगो नलाग्दै हालै त्रिविविले गरेको प्राध्यापक बढुवामा पनि विवाद उत्पन्न भएको छ ।

विश्वविद्यालय सेवा आयोगका पदाधिकारीहरुले आफू अनूकूल हुने गरी नियम बनाउँदै आफन्तलाई बढुवा गरेर योग्य र सक्षम व्यक्तिलाई पाखा लगाएको आरोप लागेको छ । अर्थशास्त्र, शिक्षा, मानविकी, तथ्याँकशास्त्र, स्वास्थ्य र जनसंख्या शिक्षालगायतका विषयमा बढुवा गर्दा मनपरी गरेको आरोप लागेको छ । हालै सहप्राध्यापकबाट बढुवा भएका त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्ली उप्रेतीको बढुवाको नियुक्ति पनि आरोपको बीच रोकिएको छ ।

त्रिवि कार्यकारी परिषद्ले प्राध्यापकमा बढुवा भएका अन्य व्यक्तिलाई नियुक्ति दिने निर्णय गरेपनि उप्रेतीको सम्बन्धमा भने कुनै निर्णय गर्न सकेको छैन । अर्थशास्त्रका सहप्राध्यापक उप्रेती र बुटवल क्याम्पसका सहप्राध्यापक नुरजंग केसीलाई गत चैत्र २४ गते प्राध्यापकमा बढुवा गर्न त्रिवि सेवा आयोगले सिफारिस गरेको थियो । उप्रेती र केसीसँगै प्रतिस्पर्धामा रहेका सहप्राध्यापकद्वय नरेन्द्र कटुवाल र दिलनाथ फुयालले उक्त सिफारिस बदर गर्न माग गरिरहेका छन् । तत्कालिन अवस्थामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच भागवण्डा गरेर उपकूलपतिमा कांग्रेस समर्थक तिर्थराज खनियाँ, रजिष्ट्रारमा एमाले समर्थक उप्रेती र रेक्टरमा माओवादी समर्थक सुधा त्रिपाठीलाई नियुक्ति गरिएको थियो ।

विश्वविद्यालयका रजिष्ट्रार रहेका व्यक्ति नै बढुवाको प्रतिस्पर्धामा गएपछि उनैको जोडबलमा कार्यविधि परिवर्तन समेत गरेर उप्रेतीलाई बढुवा गर्ने निर्णय प्रतिस्पर्धामा रहेका अन्यले गरेका छन् । कुल समय, पूर्णंक नै थपघट गरेर उप्रेतीलाई बढुवा गर्ने निर्णय गर्नु नै गलत रहेको केसी र फुयालको आरोप रहेको छ ।

रजिष्ट्रार पदमा रहेका व्यक्ति समेतले नै नैतिकता देखाउन नसकेको भन्दै बढुवामा प्रतिस्पर्धा गर्ने भए उप्रेतीले पदबाट राजिनामा दिएर आउनुपदथ्र्यो । तर त्यसो हुन सकेन । यसरी त्रिवि कहिले कर्मचारी भर्नामा त कहिले प्राध्यापक बढुवामा विवादको घेरामा तानिँदै आएको छ । त्रिविविका उपकूलपतिसहित रजिष्ट्रार र रेक्टरको पदावधि सकिए लागेको र प्राध्यापकको बढुवा लिएर उप्रेती नै नेकपाको बलमा त्रिविको उपकुलपति बन्ने दाउमा रहेको त्रिवि सूत्रले बताएको छ ।

footer