kumari
stcnepal

दुई पार्टीको एकीकरण हल्लामात्र

काठमाडौ । उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालिन संघीय समाजवादी पार्टी र डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबीच एकता भएपछि राष्ट्रिय जनता पार्टी र तत्कालिन संघीय समाजवादी पार्टीबीचको एकता रोकिएको छ । यादव र भट्टराईले नेतृत्व गरेको दुवै पार्टीहरु एकीकरण भएर समाजवादी पार्टी गठन भएको छ । डा. भट्टराईको नेतृत्व पार्टीसँग एकीकरण गर्नुभन्दा पहिला नै राजपा र समाजवादी पार्टी एकीकरण गर्ने प्रयास भएपनि त्यो सफल हुन सकेको थिएन ।

समाजवादी पार्टी र राजपाबिचको एकीकरण नहुनुमा नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमै अन्यौल भएकोले एकीकरणमा कठिनाई उत्पन्न भएको दुवै दलका नेताहरुले बताउँदै आएका छन् । समाजवादी पार्टी सत्तामै रहेको छ भने राजपाले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ । राजपाले ओली सरकार समर्थन दिँदा संविधान संशोधनको मुद्दालाई उठाउको थियो । तर, ओली सरकारले राजपासँग गरेको दुई बुँदे सहमतिलाई कार्यान्वयन नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पछिल्लो समयमा राजपाले फेरी एक पटक प्रधानमन्त्रीसँग भेट गरेर संविधान संशोधनको मुद्दालाई उठाउने र प्रधानमन्त्री ओली संविधान संशोधनमा सहमत नभए आन्दोलनमा जाने रणनीतिमा राजपा रहेको राजपाका एक नेताले बताएका छन् ।

अर्कोतर्फ समाजवादी पार्टीले समेत संविधान संशोधनको मुद्दालाई उठाएपनि लामो समयसम्म त्यस विषयमा सामान्य छलफल समेत नभएकाले सरकार छोड्न समाजवादी पार्टीलाई समेत दबाव परेको छ । दुवै दलको समान धारणा भएपनि समाजवादी पार्टी र राजपा एकीकरण हुन नसक्नुको पछाडि दुवै दलमा रहेका नेताहरुको व्यवस्थापनलाई देखाइतापनि उनीहरु छिमेकी मुलुक भारतको संकेत पर्खिएर बसेको एक सूत्रले दाबी गरेको छ ।

नयाँ शक्ति पार्टीसँगको एकीकरणपछि समाजवादी पार्टीको ७७ वटै जिल्लामा पार्टीको संगठन पुगेको छ भने राजपाको ४८ जिल्लामा मात्र संगठन पुगेको हुनाले समाजवादी पार्टी एकीकरणका लागि तयार नभएको राजपाका नेताहरुले बताउन थालेका छन् । यसरी एउटै उदेश्य र एउटै नीति लिएका दुई पार्टीबीचको एकीकरण हुन नसक्नुको पछाडि आन्तरिक र बाह्य कारण समेत रहेकाले दुवै पार्टीका शिर्ष नेताहरुले बताएका भएपनि समाजवादी पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा र राजपा संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा रहेकोले दुवै पार्टीको एकीकरणमा समस्या देखिएको एक नेताले दाबी गरेका छन् ।

footer