kumari
stcnepal

चिनी उद्योगीविरुद्ध कृषकहरु

काठमाडौ । केही चिनी मिल मालिहरु र चिनी व्यवासायीहरु नेपाली जनताको महान् चाड दशैं तिहारको मुखमा चिनीको मूल्य बढाउन सरकारलाई दबाब दिईरहेका छन् भने तिनै चिनीमिल मालिकहरुले कृषकहरुबाट उखु खरिद गर्दा गरेको सम्झौता अनुसार कृषकलाई उखुको मूल्य भुक्तानी नगरी बसेका छन् । यसले गर्दा उखु कृषकहरु संकटमा परेका छन् ।

सर्लाहीको अन्नपूर्ण चिनी उद्योग धुनकौल पश्चिमले कृषकलाई दई तिन वर्ष देखिको उखुको मूल्य भुक्तानी गरेको छैन । आफूहरुले दुई तीन वर्षदेखिको उखुको मूल्य भुक्तानी नपाएको भन्दै कृषकहरुले स्थानीय प्रशासनको गुहार मागेका छन् । केही नागरिक अगुवाहरुलाई लिएर उखु कृषकहरु जिल्ला प्रशासन कार्यलय मलंगवा पुगेर आफ्नो समस्याहरु सुल्झाईदिन प्रशासनको ध्यानाकर्षण समेत गराएका छन् ।

अन्नपूर्ण चिनी मिलले मात्र होइन अन्य मिलहरुले समेत कृषकलाई भुक्तानी दिएका छैनन् । मिलहरुबाट कृषकहरुले झण्डै ३ अर्ब रुपैँया भुक्तानी पाउन बाँकी रहेको पिडितहरुले बताएका छन् । भुक्तानी नपाउँदा कृषकहरु दिनप्रतिदिन समस्यामा पर्दै आएका र ऋणमा फस्दै गएकाले उखु कृषकहरुको उठिबास हुने अवस्थामा पुगेपनि न त मिल मालिकहरुले पैसा दिने गरेका छन् न त स्थानीय प्रशासनले नै मिल मालिकहरुलाई दबाब दिएर भुक्तानी दिने व्यवस्था मिलाउन सकेको छ । सर्लाहीका प्रमुख जिल्ला धिकारीसँग भएको भेटमा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले कृषकहरुले लामो समयदेखि पाउन नसकेको भुक्तानी दिलाईदिन पहल गर्ने आश्वासन कृषकहरुलाई दिएका छन् ।

पछिल्लो समयमा कृषकहरुले निरन्तर धर्ना दिँदै आन्दोलन गर्दा समेत उनीहरुले भुक्तानी पाउन सकेका छैनन् । धनकौल चिनी मिलका माकिकले पैसा भुक्तानी गर्नुको सट्टा सम्पर्कविहिन अवस्थामा बसेका आरोप कृषकहरुले लगाएका छन् । कृषकहरु धर्नामा बसेपछि केही समय अघि मिल मालिकले चिनी विक्रि गर्दै जाने र कृषकको पैसा पनि भुक्तानी पनि गर्दै जाने बताएका थिए तर विभिन्न बहानाबाजी गरेर मालिक चुपचाप बसेपछि कृषकहरुले स्थानीय प्रशासनलाई गुहार गरेका छन् ।

चिनी उद्योग व्यवसायि संघका अध्यक्ष र चिनी मिलका मालिक समेत रहेका शशीकान्त अग्रवाल भने उद्योगहरुलाई पैसा भुक्तानी गर्न दबाब दिनुको बदला जसरी भएपनि चिनीको मूल्य बढाउन सरकारसँग आग्रह गरिरहेका हुनाले सरकारपनि मालिकहरुकै पक्षमा रहेका उखु कृषकहरुको आरोप रहेको छ ।

भारतबाट सस्तो मूलयमा चिनी ल्याएर नेपालमा महंगो मूल्यमा बेच्ने बानी परेका चिनी उद्योगीहरुले नेपालमा उत्पादित भएको चिनी विक्रि नभएको बहानाबाजी गर्दै कृषकलाई उखुको मूल्य भुक्तानी नदिनु भनेको कृषकमारा नीति नै हो । नेपालमा वार्षिक २ लाख ४० हजार मेट्रिकटन आवश्यक पर्ने भएपनि नेपाली मिलहरुबाट १ लाख ३० हजार मेट्रिकटन चिनी उत्पादन हुने गरेको छ ।

केही भ्रष्ट उद्योगीर काला व्यापारीहरुले भारतलगायत अन्य मुलुकबाट सस्तोमा चिनी ल्याएर नेपालमा उत्पादन भएको स्टीकर टाँसेर विक्रि गर्ने गरेका समाचारहरु बेला बेलामा प्रकाशित प्रसारित भएपनि सरकारले त्यसतर्फ ध्यान पु¥याउन नसक्दा कृषकहरु मारमा परेका छन् । चिनी व्यवसायीहरुले आफ्नो चिनी विक्रि नभएको उद्घोष गरेपनि हाल नेपालमा विक्रि भइरहेको चिनी कहाँको हो त भन्ने प्रश्न समेत उब्जिएको छ ।

footer