kumari
stcnepal

समाजवादी पार्टीले सरकार छोड्ने

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीको सत्ताको सहयोगी समाजवादी पार्टीले प्रदेश प्रमुखहरुको वर्खास्ती र नयाँ प्रदेश प्रमुखहरुको नियुक्तिमा असहमति जनाएको छ । केपी ओली नेतृत्वको सरकारमा समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादले उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री भएर काम गरिरहेका छन् भने उनैको पार्टीले शहरी विकास मन्त्रालय समेत मालेको छ । यादव सहित ओली सरकारमा समाजवादी पार्टीको एक उपप्रधान एवं स्वास्थ्यमन्त्री एक, मन्त्री र एक राज्यमन्त्री रहेका छन् । उपप्रधानमन्त्री सहित दुई मन्त्रालयको जिम्मेवारी सम्हालेको समाजवादीले नेकपाले बहुमतको दम्भ देखाएको भन्दै त्यही दम्भका आधारमा प्रदेश प्रमुखहरुलाई बर्खास्त गरी नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरेको भन्दै उपप्रधान एवं स्वास्थ्यमन्त्री तथा कार्यकारी पार्टी अध्यक्ष उपेन्द्र यादवले आफैँ संलग्न भएको सरकारको त्यस्तो निर्णयप्रति आफू सहमत नभएको बताएका छन् ।

मन्त्री यादवका अनुसार नेकपासँग बहुमत थियो निर्णय गर्नुभयो भन्दै तर सरकारमा सहभागि भएको नाताले हामीसँग सल्लाह गर्नुपर्ने थियो तर सल्लाह नै गरिएन भन्दै त्यस विषयमा आफ्नो पार्टीले छिट्टै निर्णय गर्ने बताएका छन् । संविधान संशोधन गर्ने विषयमा नेकपासँग सहमति गरेर डेढ वर्ष अघि समाजवादी पार्टी सरकारमा सहभागि भएको थियो । सरकारमा सहभागि नै नभएपनि राष्ट्रिय जनता पार्टीले समेत ओली नेतृत्वको सरकारलाई सरकारबाहिरै बसेर समर्थन दिएको भएपनि सरकारले संविधान सशोधन प्रति कुनै चासो नदेखाएको भन्दै राजपाले एक वर्ष अगाडि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । राजपाले समर्थन फिर्ता लिएपनि समाजवादी पार्टी सरकारमै रहेकाले ओली सरकारसँग झण्डै दुई तिहाई मत रहेको छ । तर सरकारको प्रदेश प्रमुख फेर्ने निर्णयले गर्दा समाजवादी पार्टी समेत सरकारसँग चिढिएको हुनाले अब नेकपाले एक्लै सरकार चलाउनुपर्ने अवस्था आउन सक्छ ।

सजमावादी पार्टी र राजपा एकीकरणको प्रयासमा रहेका बेला ओली सरकारले गरेको प्रदेश प्रमुखहरु फेर्ने निर्णयलेगर्दा समाजवादी पार्टी र राजपालाई एकीकरण बल पुग्न सक्छ । राजपाले पार्टी एकीकरणको लागि समाजवादी पार्टीले सरकार छोड्नुपर्ने अडान लिँदै आएको छ । पार्टी एकीकरण लगायतका अन्य विषयहरुमा छलफल गरी आवश्यक निर्णय लिन समाजवादी पार्टीले यहि कार्तिक २८ गते देखि ३० गतेसम्म संघीय परिषद् र केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार पदमुक्त भएका प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ तत्कालिन संघीय समाजवादी पार्टीका पूर्व महासचिव हुन् । उनी दलकै सिफारिसमा प्रदेश प्रमुखमा नियुक्त भएका थिए भने राजपाको सिफारिसमा प्रदेश नं. ५ मा पद मुक्त भएका प्रदेश प्रमुख उमाकान्त झा प्रदेश प्रमुख भएका थिए ।

सरकारले बहुमतको दम्भमा अनेक निर्णयहरु गरेको हुनाले दुवै पार्टीलाई एकीकरणको लागि दबाब बढ्दै गएको छ । राजपाले प्रदेश प्रमुखहरु फेर्ने निर्णयले गर्दा नेकपा र सरकार एकदलीय व्यवस्थातर्फ उन्मुख हुँदै गएको आरोप लगाउँदै बहुमतको नाममा दम्भ देखाएर विनाकारण प्रदेश प्रमुखहरु फेरेको भन्दै राजपाले आक्रोश समेत पोखेको छ । समाजवादी पार्टीले सत्ता छोडेपनि ओली सरकारलाई भने कुनै आपत्ति पर्दैन संविधान संशोधन बाहेकका सबै काम गर्न ऊ सँग प्रर्याप्त बहुमत रहेको छ ।

footer