kumari
stcnepal

पार्टीभित्र भट्टराई एक्लिए

काठमाडौ । गत वैशाखमा तत्कालिन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भएपश्चात् बनेको समाजवादी पार्टीको संघीय परिषद् र केन्द्रीय समितिको बैठक कार्तिक २८ गते देखि ३० गतेसम्म राजधानीमा सपन्न भएको छ । भण्डै एक हजार प्रतिनिधिले भाग लिएको संघीय परिषद्को बैठकमा तत्कालिन नयाँ शक्ति पार्टीका संयोजक रहेका डा. बाबुराम भट्टराई पक्षले उपेन्द्र यादवले नेतृत्व गरेको केपी ओली नेतृत्वको सरकारबाट तत्काल हट्नुपर्ने मागलाई यादव पक्षले अस्वीकार गरेको हुनाले समाजवादी पार्टीले तत्काल सरकार नछोड्ने भएको छ ।

डा. बाबुराम भट्टराईले बैठकमा राखेका मागहरुका विषयमा बैठकले कुनै छलफल र बहसै नगरेको हुनाले समाजवादी पार्टीभित्र डा. भट्टराई अल्पमतमा परेका छन् । भट्टराई पक्षले अब सरकारमा बसिरहनुको कुनै औचित्य नभएको भन्दै सरकार छोड्नुपर्ने दबाब दिएको भएपनि तत्कालिन संघीय समाजवादी फोरम पक्षका नेता तथा कार्यकर्ताहरुले सरकार छोडिहाल्नुपर्ने अवस्था नभएको बताएपछि सोही अनुसारको निर्णय भएकाले डा. भट्टराई पक्ष अल्पमतमा परेको हो । केही समय देखि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरणको प्रयास भएपनि समाजवादी पार्टीले सरकार नछोड्ने भएपछि अब राजपा र समाजवादी पार्टी एकीकरण समेत अन्योलमा परेको छ ।

दुवै पार्टी एकीकरण भएपश्चात् महाधिवेशन गर्ने भनि बसेका दुवै पार्टीहरु अब एकीकरणको सम्भावना हाललाई टरेको हुनाले सम्वैधानिक संकटबाट जोगिनका लागि आ आफ्नो पार्टीको महाधिवेशनको तयारीमा लाग्ने भएका छन् । त्यसै कारण तत्कालको लागि राजपा र समाजवादी पार्टीको एकीकरण समाप्त भएको छ ।

डा. बाबुराम भट्टराई समाजवादी पार्टीमा समेत अल्पमतमा परेका हुनाले उनीमा छटपटी बढेको छ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी विघटनको मार्गतर्फ उन्मुख भएको बताउँदै आएका भट्टराई आफ्नै पार्टीभित्र अल्पमतमा परेपछि उनी निकट केही नेताहरुले संघीय समाजवादी फोरममा पार्टी एकता गर्नु नै गलत भएको बताउन थालेका छन् । तत्कालिन माओवादी केन्द्रका नेता रहेका भट्टराई अब माओवादीबाट मुलुकको हित नहुने भन्दै नयाँ शक्ति नामक पार्टी खोलेर नयाँ रुपमा राजनीतिमा होमिएका थिए ।

विगतमा भएको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा उनले गोरखाबाट प्रतिनिधि सभाको सदस्य जितेका भएपनि उनको पार्टीले अन्यन्त्र काँहीकतैबाट निर्वाचन जित्न नकसेपछि पहिला उनको पार्टीमा रहेका व्यक्तिहरु अन्य पार्टीमा गएका एक प्रकारले पार्टी नै विघटन गर्नुपर्ने अवस्थामा पुगेपछि उनी उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालिन संघीय समाजवादी फोरमसँग पार्टी एकीकरण गर्न बाध्य भएका थिए । तर छोटो समयमै उनी त्यहाँपनि अल्पमतमा परेका हुनाले र पार्टीमा उपेन्द्र यादवकै हालीमुहाली चल्ने गरेको हुनाले डा भट्टराई यता न उताका भएका छन् ।

समाजवादी पार्टीलाई सरकार छोड्न व्यापक दबाब दिँदै आएका भट्टराई आफ्नो कुरा बैठकमा र केन्द्रीय समितिको बैठकमा समेत सुनुवाई हुन छाडेको भन्दै केही आफू निकटहरुसँग अब के गर्ने भन्ने विषयमा छलफल चलाउँदै आएका छन् । समाजवादी पार्टीको केन्द्रीय समितिमा समेत यादव पक्षकै बहुमत रहेको र त्यहाँ पनि भट्टराई पक्ष अल्पमतमा रहेकोले भट्टराईले समाजवादी पार्टी समेत छोड्न सक्ने सम्भावना रहेको एक नेताले बताएका छन् ।

footer