kumari
stcnepal

खोक्रो राष्ट्रवाद होइन भने समाधानतर्फ उन्मुख खोई ?

काठमाडौ । दक्षिणी छिमेकी मुलुक भारतले नेपालको केही भागलाई आफ्नो राजनीतिक नक्साभित्र राखेर नयाँ नक्सा प्रकाशित गरेपछि त्यसको व्यापक विरोध भएको छ । विरोध हुने क्रम बढी रहेको बेला प्रधानमन्त्री केपी ओली विरामी भएर अस्पतालमा उपचारार्थ रहेका छन् । सरकारको नेतृत्व गर्ने कार्यकारी प्रधानमन्त्री नै विरामी भएकाले सीमा विवादको समस्याले तत्काल निकास पाउन सक्ने सम्भावना पछि सरेको छ ।

छिमेकीसँग सँधैभरी राम्रो सम्बन्ध हुनुपर्दछ । त्यसो भएमा मात्र व्यवहार चलाउन सहज हुन्छ । सम्बन्ध राम्रो हुनुपर्दछ भन्दैमा छिमेकीले जे गरेपनि सहेर बस्नुपर्छ भन्ने होइन । हाम्रो दक्षिणी छिमेकीले पटक पटक हामीलाई दुःख दिइरहेको छ । तीन पटक आर्थिक नाकाबन्दी नै लगाईसकेको र एउटा भूपरिवेष्ठित देशले पाउने अधिकारबाट समेत बञ्चित गराउने प्रयास गरेपनि उ असफल सावित हुँदै आएको छ ।

भारतलाई स्वतन्त्र हुन नेपालका धेरै मानिसहरुले सहयोग गरेको इतिहास साक्षी रहेको छ । त्सैले नेपाली जनताले जहिले पनि भारतको उन्नति र प्रगति नै भएको देख्न चाहन्छ तर भारतीय शासकहरु भने नेपालको प्रगति देख्न चाहिरहेका छैनन् किन ? चाहे संविधान जारी गर्दा चाहे अन्य विषयमा निर्णय गर्न खोज्दा होस् भारतले च्याँखे थाप्ने गरेको छ । संविधान जारी गर्ने बेलामा तराईका दलहरुलाई मिलाई संविधान जारी नगरेको भन्दै तत्कालिन प्रधानमन्त्रीलाई आफ्ना परराष्ट्रसचिव र हालका भारतका विदेशमन्त्री मार्फत सन्देश पठाएको थियो । त्यसबेला संविधान जारी नभएको भए खोई के हुन्थयो अहिले यसै भन्न सकिने अवस्था छैन ।

जति दबाब दिएपनि संविधान जारी भयो त्यही संविधान अनुसार संसदको निर्वाचन भयो प्रदश संसद बन्यो, स्थानीय तहको निर्वाचन भयो अहिले तिनै तहका सरकारहरुले काम गरिरहेको अवस्थामा नेपालको भूमिलाई आफ्नो राजनीतिक नक्साभित्र राखेर नक्सा प्रकाशित गर्नुको उदेश्य के ? संविधानको घोषणा भएपछि ६ महिना सम्म नेपाललाई नाकाबन्दी गरेर नेपाली जनताको मनमा चोट पु¥याएको भारतले फेरी अहिले नेपाली भूमिमा आफ्ना सेना राखेर नेपाली भूमि नै आफ्नो नक्साभित्र राख्नु भारतको विस्तारवादी नीति बाहेक अन्य केही हुन सक्दैन । भारतले पटक पटक दुःख दिएकै कारण नेपाली जनताले भारतसँग मात्र निर्भर हुनुहुँदैन अन्य मुलुकसँग समेत पारवहन सम्झौता हुनुपर्दछ भन्ने आवाज उठाएपछि यसैको परिणाम स्वरुप चीनसँग समेत पारवहन सम्झौता भएको र त्यो कार्यान्वयनको चरणमा रहेको छ ।

भारत जहिलेसुकै पनि नेपाललाई आफ्नो अधिनमा राख्न चाहान्छ । त्यसैले चीनसँग पारवहन सम्झौता गरेपछि नेपालसँग भारत रिसाएको र नेपालको भू भागलाई आफ्नो नक्साभित्र राखेरको हुनसक्छ । कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भू भाग हो नेपालसँग भएका प्रमाणहरुले त्यसको पुष्टि गरिसकेको हुनाले अब ती क्षेत्रबाट भारतीय सुरक्षाकर्मी हट्नुपर्दछ ।

भारतले आफ्नो गल्ती भएको भन्दै आफ्नो राजनीतिक नक्साबाट नेपालका भू भागलाई हटाउनुपर्दछ । भारत नेपालभन्दा २२ गुणा ठुलो मुलुक हो । आफ्नो भू भागलाई राम्रोसँग समाल्न नसक्नु नेपालको कमजोरी हो । कमजोरी हो भन्दैमा भारतले नेपालको भू भाग माथि हस्तक्षेप गर्न पाउँदैन । भारतले आफ्नै भू भाग राम्रोसँग समाल्न नसकेको अवस्थामा नेपालको भू भाग कब्जा गर्न खोज्ने सोँच नै गलत रहेको छ ।

सीमा विवाद पुरानो भएपनि भारतले आफ्नो नक्साभित्रै नेपालको भू भाग राखेर आफ्नो राजनीतिक नक्सा प्रकाशित गरेको यो पहिलो पटक भएकाले अब नेपाल सरकारले कुटनीतिक माध्यम र राजनीतिक तवरमै यो समस्याको समाधान खोज्नु उपयुक्त हुनेछ । सडकमा उफ्रिँदैमा र नारा जुलुस लगाउँदैमा समस्याको समाधान हुन सक्दैन । भारत नेपालमाथि जहिलेसुकै पनि फुटाउ र राज गर भन्ने पक्षमा रहेको उसको विगतको चत्रिरले देखाइसकेको छ । त्यसको अनुभव हाम्रा राजनीतिक दलका नेताहरुले गरिसकेका हुनाले पछिल्लो समयमा उत्पन्न भएको सीमा विवाद र त्यसको समाधानको पक्षमा सबै राजनीतिक दलहरुबीच राजनीतिक सहमति समेत बनेको छ ।

राजनीतिक परिवर्तनपछि हाम्रा राजनीतिक दलहरुले राजनीतिक सहमति गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकारालई काम गर्न सजिलो भएको छ । सबै राजनीतिक दलहरु र नेपाली जनता सरकारको पक्षमा भएका र सरकारले सीमा विवाद समस्या समाधान गरी आफ्नो भूमिको रक्षा गरोस् भन्ने चाहिरहेकाले सरकारले उच्च मनोबल लिएर भारतसँग प्रमाणका आधारमा कुरा गर्न सक्नुपर्दछ । उच्च भावनाका आधारमा शिर ठाडो पारेर आफ्ना कुरा राख्न सक्नुपर्दछ ।

पछिल्लो दिनहरुमा हाम्रो भू भाग फिर्ता लेऊ भन्ने केही भनाईहरु सार्वजनिक भइरहेका छन् । त्यो भनाई गलत रहेको छ । हाम्रो भूमि फिर्ता होइन त्यो भू भाग हाम्रो हो भारतले कब्जा गर्न खोजेकोले त्यहाँबाट भारतीय सुरक्षाकर्मीहरु हटाउन भन्नुपर्दछ । नेपाल र भारतबीच धेरै किलोमिटर खुल्ला सिमाना भएकाले बेला बेलामा भारतले सीमा अतिक्रमण गर्ने गरेको हुनाले अब नेपाल भारत सीमामा नेपालका सुरक्षाकर्मीहरु समेत तैनाथ गरी आफ्नो भूमिको रक्षा गर्नुपर्ने अवस्था देखिएको छ ।

भारतले नेपाल भारत सीमामा आफ्ना सुरक्षाकर्मी राखेको छ अब हाम्रा पनि आवश्यक छ । लडाई झगडा गरेर समस्याको समाधान हुन सक्ने अवस्था अहिले नभएकाले कुटनीतिक र राजनीतिक तवरमा प्रमाणका आधारमा हाम्रो भूमिको सुरक्षा गर्ने प्रमुख दायित्व सरकारको भएको र सरकारलाई त्यसका लागि जनताले समेत साथ दिनुपर्ने हुन्छ । त्यसैले ओली सरकारले खुट्टा नकमाई हाम्रो भूमिबाट भारतीय सुरक्षाकर्मी हटाउन तत्काल वार्ता गर । सरकारलाई साथ दिन नेपाली जनता तयार छन् ।

राष्ट्रवादको नारा दिएर सत्तामा पुगेका प्रधानमन्त्रीले अब आफ्नो राष्ट्रवादी विचारलाई जिउँदो राख्नका लागि हाम्रो भू भागबाट भारतीय सुरक्षाकर्मी हटाउने प्रण गर्नैपर्दछ । त्यसबेला मात्र प्रधानमन्त्री ओलीको राष्ट्रवादले सार्थकता पाउँछ जुन बेला नेपालको भू भागबाट भारतीय सुरक्षाकर्मीहरु पछि हट्छन् । त्यसैले अब बोलेर होइन काम गरेर देखाउने अवसर प्रधानमन्त्री ओलीलाई मिलेको छ । हेर्न बाँकी छ प्रधानमन्त्री ओलीको राष्ट्रवाद ।

footer