kumari
stcnepal

नेपाल र अमेरिकी सहयोग नियोग यूएसएआईडी बीच ६५.९ करोड अमेरिकी डलरको नयाँ पाँच वर्षे सहयोग सम्झौतामा हस्ताक्षरको हुने

नेपाल र अमेरिकी सहयोग नियोग यूएसएआईडी बीच ६५.९ करोड अमेरिकी डलर अर्थात् ८१ अर्ब नेपाली रुपैयाँको नयाँ पाँच वर्षे सहयोग सम्झौतामा हस्ताक्षरको हुने भएको छ।

अर्थ मन्त्रालय र यूएसएआईडी बीच उक्त सहयोग सम्झौतामा हस्ताक्षरका लागि अन्तिम चरणको छलफल भइरहेको अर्थ मन्त्रालयका अधिकारीहरुले बताए। ‘चैत महिना भित्र सम्झौतामा हस्ताक्षर हुनसक्छ,’ मन्त्रालयका एक अधिकारीले बिहीबार साँझ भने।ती अधिकारीका अनुसार चार महिनायता अर्थ मन्त्रालय र यूएसएआईडी बीच पटक—पटक सम्झौता हस्ताक्षरका लागि छलफल भइसकेको छ।

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पूर्वाधार विकास र लोकतन्त्रको सुदृढीकरणका लागि उक्त रकम खर्च हुने बताइएको छ। ‘यूएसएआईडी र नेपाल सरकार बीचको नियमित सहयोग सम्झौता नै हो भन्दा फरक पर्दैन। यद्यपि, सम्झौता हस्ताक्षरका लागि अमेरिकाका तर्फ बाट ताकेता भइरहेको छ,’ मन्त्रालयका अर्का एक अधिकारीले भने।

अमेरिका नेपालको एक प्रमुख दातृ मुलुक रहँदै आएको छ। नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन गरे सँगै अमेरिकी अधिकारीहरुले यूएसएआईडी सँगको सम्झौता पनि चाँडो टुंग्याउन आग्रह गरिरहेका छन्।

अर्थ मन्त्रालयले गत सोमबार वासिङ्टन स्थित एमसीसी मुख्यालयलाई पत्र लेखी एमसीसी सम्झौता संसद बाट अनुमोदन भएको अवगत गराइसकेको छ। अर्थ मन्त्रालयले एमसीसी मुख्यालयलाई लेखेको पत्रमा संसद बाट अनुमोदित १२ पेज लामो व्याख्यात्मक घोषणा पनि समेटिएको छ।

 

 

 

footer