kumari
stcnepal

प्रेस चौतारी नेपालको नवौं महाधिवेशन पोखरामा सुरु

पोखरा । नेकपा एमाले निकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको नवौं महाधिवेशन शुक्रबार देखि पोखरामा सुरु भएको छ । नयाँ नेतृत्व निर्वाचित गर्ने महाधिवेशनमा सहमतिकै आधारमा कमिटी बनाउने तयारी नेताहरूले गरिरहेका छन् ।

चौतारीको नेतृत्व हात पार्न आकांक्षीहरूले नेताहरू सँग लबिइङ गरिरहेका छन् । अध्यक्षका लागि अहिलेकै अध्यक्ष गणेश बस्नेत फेरि दोहोरिने प्रयास गरिरहेका छन् । अहिलेका उपाध्यक्ष गणेश पाण्डेले नेतृत्व हात पार्ने गरी नेताहरूलाई आगामी योजना र कार्यक्रम नै पेश गरेका छन्। माधव नेपाल, टीका विष्ट अध्यक्षका लागि कसरत गरिरहेका छन् । अहिलेका महासचिव राजेश राईले आकांक्षा देखाए पनि धेरै आकांक्षी हुँदा फिर्ता लिन सक्ने सम्भावना रहेको एक नेताले बताए । प्रमोद दाहाल र दीपक पाण्डे पनि अध्यक्षका लागि आकांक्षी छन् ।

महासचिवमा अहिलेका उपमहासचिव हिरामान लामा, कोषाध्यक्ष ईन्द्र आचार्य, केन्द्रीय सदस्य प्रकाश सिलवाल र चेतन अधिकारीले आकांक्षा देखाएका छन् । अध्यक्ष तथा पदाधिकारीका आकांक्षीहरूका लागि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ शक्ति केन्द्र बनेका छन् । केही दिनअघि देखि नै आकांक्षीहरूले पृथ्वीसुब्बालाई भेटेर आफ्नो पक्षमा निर्णय गर्न आग्रह गरिरहेका छन् । एमाले प्रचार विभाग प्रमुख समेत रहेका ओलीनिकट पृथ्वीसुब्बाको निर्णयले प्रभाव पार्ने भएकाले पोखरा आउने आकांक्षीले उनलाई भेट्ने गरिरहेका छन् । आकांक्षीहरूको नजर केपी शर्मा ओली तिरै छ ।

महाधिवेशन संयोजक गणेश पाण्डेले भरसक सहमति गर्ने तर सहमति नजुटे निर्वाचनमा कसरी जाने भन्ने तय भइनसकेको जानकारी दिए । आजै बाट सुरु हुने बन्द सत्रले केन्द्रीय कमिटीको संख्या, संरचना र अबको बाटो तय गर्ने जानकारी दिए ।

चैतारीमा अध्यक्ष सहित ४ उपाध्यक्ष, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना रहने प्रस्ताव गरिएको । केन्द्रीय समिति १५१ सदस्यीय रहने प्रस्ताव छ । केन्द्रीय कमिटीको संख्या अझै घटाउने बारे पनि छलफल चलिरहेको छ ।

 

 

footer