kumari
stcnepal

नेकपा एकीकृत समाजवादी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा आपत्ति : नेकपा एमाले

प्रमुख विपक्षी नेकपा एमालेले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा आपत्ति जनाएको छ ।

निर्वाचन आयोगले शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सँग स्थानीय तहको निर्वाचन तयारी बारे छलफल गरेको थियो । छलफलमा सहभागी एमालेका प्रतिनिधिहरूले नेकपा एकीकृत समाजवादी सँगै लोकतान्त्रिक समाजवादी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा आपत्ति जनाएको हो ।

गत भदौ २ गते सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याएर दल फुटाउन सक्ने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो । सोही अध्यादेश अनुसार माधव नेपालले एमाले फुटाएर र महत्थ ठाकुरले जसफा फुटाएर नयाँ पार्टी दर्ता गरेका थिए जसलाई निर्वाचन आयोगले भदौ ९ गते नै मान्यता दिएको थियो ।

अध्यादेश अनुसार पार्टी फुटाउँदा राष्ट्रिय दल हुन सक्ने तर, अध्यादेश फिर्ता भएपछि उक्त पार्टी राष्ट्रिय दल कहिले सम्म कायम रहने भन्ने विषयमा कानूनी व्यवस्था प्रष्ट नभएको एमालेको तर्क छ । कानूनी व्यवस्था प्रष्ट नभएकाले अध्यादेश फिर्ता सँगै नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको राष्ट्रिय दलको मान्यता पनि खारेज भएको नेकपा एमालेका नेता बाबुराम दाहालले बताए । तर, निर्वाचन आयोगका अधिकारीहरुले एमालेले दुई पार्टीलाई दिइएको राष्ट्रिय दलको मान्यताका विषयमा उठाएको प्रश्नमा कुनै जवाफ दिएन ।

 

 

footer