kumari
stcnepal

प्रधानमन्त्री देउवा र विप्लव बीच भेटवार्ता, तीनबुँदे समझदारीको कार्यान्वयन नभएको गुनासो

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा  ‘प्रकाण्ड’ सहित बालुवाटार पुगेका विप्लवले सरकार सँग भएको तीनबुँदे समझदारीको कार्यान्वयन नभएको गुनासो गरेको छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका वेला २१ फागुन २०७७ मा सरकार र नेकपा बीच तीनबुँदे समझदारी भएको थियो । समझदारी भए सँगै हिंसात्मक गतिविधि गरिरहेको पार्टी शान्तिपूर्ण राजनीतिमा आएको थियो । तर सरकार पक्ष बाट सहमति कार्यान्वयनमा अलमल भएको पार्टीका प्रवक्ता प्रकाण्ड बताउँछन् ।

भेटमा प्रधानमन्त्री देउवाले भने सहमति कार्यान्वयनका लागि सहयोग गर्ने आश्वसन दिएको भनिएको छ । उनले यस विषयमा गृहमन्त्री बालकृष्ण खाँण र कानूनमन्त्री दिलेन्द्रप्रसाद बडु सँग पनि छुट्टै छलफल गर्ने बताएका छन् ।

सरकार सँग भएको समझदारीमा दुवै पक्ष देशका राजनीतिक समस्याहरु वार्ता र सम्वाद बाट समाधान गर्न तयार भएको भनिएको थियो । दोस्रो बुँदामा विप्लव नेतृत्वको नेकपाले सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्ने भनिएको थियो । साथै, सरकारका तर्फ बाट नेकपा माथि लगाइएको प्रतिबन्ध हटाउने र कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्ने भनिएको थियो । यही बुँदा कार्यान्वयनमा नभएको भन्दै विप्लवले पटकपटक सरकार पक्षका नेताहरुलाई भेट गरिरहेका छन् ।

समझदारी सँगै अनुसन्धानका लागि हिरासतमा रहेका विप्लवका केही नेता कार्यकर्ता रिहा भएका थिए । केहीलाई अदालतले धरौटीमा छाडेको थियो । तर अदालतमा मुद्दा विचाराधीन रहेका सहित १२५ नेता कार्यकर्ता अझै कारागारमा रहेको नेकपाको दाबी छ ।

 

 

footer