kumari
stcnepal

मुलुक अनिर्णयको बन्दी

काठमाडौ । प्रधानमन्त्री केपी ओली अस्पतालमा रहेका छन् । उनले साग प्रतियोगिताको उद्घाटन अस्पतालबाटै आइप्याड चलाएर हेरे रे । सायद उनी विरामी नभएका भए दशरथ रंगशालामै पुगेर उद्घाटन समारोहमा सामेल हुन्थे होला तर त्यो अवसर उनलाई जुरेन । त्यसैले गर्दा उनले गर्नुपर्ने भाषण उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले गरे ।

प्रधानमन्त्री विरामी भएकै कारण लामो समयदेखि महत्वपूर्ण निर्णयहरु हुन सकेका छैनन् । यति बेला सबै भन्दा महत्वपूर्ण विषय भनेको भारतले नेपालको केही भू भागलाई आफ्नो राजनीतिक नक्साभित्र राखेर नक्सा प्रकाशित गरेको छ । त्यस विषयमा सरकारले कुटनीतिक र राजनीतिक सम्वाद चलाएर नेपालको भूमिमा राखिएका भारतीय सुरक्षाकर्मीहरु हटाउनुपर्ने थियो तर प्रधानमन्त्री विरामी भएपछि त्यो कार्य रोकिएको छ । त्यस विषयमा सरकारले आजसम्म केही गर्न सकेको छैन ।

प्रधानमन्त्री विरामी भएकै कारण मुलकु अनिर्णयको बन्दी बनेको जस्तो देखिएको छ । अस्पतालमै बसेर राज्य सञ्चालन गर्न सकिने अवस्था देखिएको छैन त्यसैले प्रधानमन्त्री ओलीलाई सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गराउनुपर्ने अवस्था समेत आउन सक्छ ।

प्रधानमन्त्री उपचारकै क्रममा रहेका बेला भएको उपनिर्वाचनको परिणाम हेर्दा प्रधानमन्त्री ओली नेतृत्वको सरकारको लोकप्रियता बढेको देखिएन । सत्ताधारी दलका नेताहरुले भन्ने गरेको सरकारको लोकप्रियता बढेको भन्ने भनाईलाई चुनावी परिणामले खण्डित गरेको छ भने सरकार पूर्ण रुपमा असफल सावित भई सकेको भन्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आरोपलाई समेत चुनावी परिणामले खण्डित गरीदिएको छ । उपनिर्वाचको परिणामले मुलुक दुई दलिय अधिनायकवाद तर्फ उन्मुख हुन सक्ने सम्भावना समेत देखिएको छ । यदि त्यसो भएमा मुलुककै लागि दुर्भाग्य सावित हुनेछ ।

प्रधानमन्त्री ओली मुलुकको लागि केही गर्दछु भन्न नेता भएपनि उनको मन्त्रिपरिषद्मा रहेका व्यक्तिहरु र गुटगत स्वार्थले गर्दा प्रधानमन्त्रीले काम गर्न सकिरहेका छैनन् । काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी ल्याउने समय पटक पटक सारिएको छ कहिले पानी आउने हो त्यो निश्चित भएको छैन तर खानेपानी मन्त्रीलाई थमौती गरेर ओली सरकार आलोचनको पात्र बनेको छ । शेयर बजार ओरालो लागेको छ, महंगी बढेको छ, भ्रष्टाचार बढेको छ । मेडिकल माफियाहरुले र निर्माण व्यवसायीहरुले सरकारलाई चुनौती दिइरहेका छन् तर पनि त्यस विषयमा सरकार चुपचाप बसेको छ ।

कालापानी समस्या समस्यामै अड्किएको छ । अहिले ओली सरकारका लागि यिनै चुनौतीहरु रहेका छन् । यी विषयमा काम गर्न नपाउँदै प्रधानमन्त्री विरामी भएका छन् । विरामी चाहेर हुन सकिँदैन विरामी हुन र उपचार गर्नुलाई नै सबैथोक मान्न सकिँदैन आशा गरौं प्रधानमन्त्री ठीक हुन् र यी समस्याको समाधान गरुन् ।

footer