kumari
stcnepal

एमसीसी कार्यान्वयनका क्रममा व्याख्यात्मक घोषणालाई मिनिमाइज नगर्न चेतावनी : प्रचण्ड

बिराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनका क्रममा व्याख्यात्मक घोषणालाई मिनिमाइज नगर्न चेतावनी दिएका छन् । त्यसो गरे सरकार छाडेर आन्दोलनमा जाने अवस्था आउन सक्ने उनले बताए ।

बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरु सँग कुरा गर्दै प्रचण्डले भने, ‘व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा मिनिमाइज गरियो भने त्यही विषय भोलि आन्दोलनको विषय हुनसक्छ । हामी चाहन्छौं त्यस्तो नहोस् । व्याख्यात्मक घोषणालाई उचित सम्मान सहित कार्यान्वयनमा जाने विश्वास लिएका छौं ।’ उनका अनुसार व्याख्यात्मक घोषणा सहित पास भएको एमसीसीबारे पार्टीमा बहस कायमै छ । आगामी चुनाव पछि बस्ने बैठकमा यस बारे छलफल हुने र आवश्यक परे फोरम चलाउन पनि दिने गरी अघि बढेको अध्यक्ष प्रचण्डले बताए ।

त्यो बेला फेल भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘राजीनामा दिन्छौं ढक्क हुनुस् ।’ एमसीसी अनुमोदन गरेका कारण पार्टी छाडेका नेताहरु प्रति भने उनले कडा टिप्पणी गरेका छन् । एमसीसी पास गरेका कारण पार्टीमा बस्दैनौं भन्नेहरु एमालेमा प्रवेश गरेको भन्दै उनले भने, ‘यो भन्दा विचित्र के हुन्छ ? जानु नि बरु किरणजी, विप्लव कहाँ । नभए नारायणमान विजुक्छे कहाँ जानू ।’

 

 

footer