kumari
stcnepal

नेपाली सेनाले अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगितामा स्वर्ण हात पार्यो

नेपाली सेनाले पाकिस्तानमा यही फागुन २३ देखि २५ गते सम्म भएको पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगितामा स्वर्ण पदक हात पार्न सफल भएको छ । जङ्गल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि १०० किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगिता सबैभन्दा पहिले पूरा गरी स्वर्ण पदक जित्न सफल भएको थियो ।

प्रतियोगितामा प्रमुख सेनानी सुधीर केसी, सहसेनानी पवन खत्री, उपसेनानी अनमोल प्रसाईं, जमदार राजकुमार सारु मगर, हुद्दाद्वय कृष्ण गुरुङ र मानकाजी तामाङ, प्युठ मनोज थापा, निकराज गुरुङ, युवीन अमगाईं, कपिल लामा र सिपाही अशोकबहादुर बम सहभागी थिए । नेपाली सेनाले उक्त प्रतियोगितामा पहिलो पटक भाग लिएको हो ।

प्रतियोगितामा भाग लिनु अघि सेनाले पूर्वतयारी स्वरुप विभिन्न गण बाट छानिएका सकल दर्जालाई चार हप्ताको तालिम प्रदान गरेको थियो । प्रतियोगितामा नेपाल, श्रीलङ्का, केन्या, मोरक्को, उज्वेकिस्तान, टर्की, जोर्डन, साउदी अरेबिया लगायत मुलुकका सेना सहभागी थिए । पहिलो प्रयासमा अब्बल नतिजा हासिल गर्नुमा नेपाली सेनाको व्यावसायिकता, पेसागत दक्षता, दृढ सङ्कल्प सहितको अठोटले ठूलो बल पुर्‍याएको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली टोलीमा सहभागी अधिकृत, पदिक र अन्य दर्जालाई ‘प्रधान सेनापति प्रशंसा पदक’ प्रदान गरे ।

 

footer